Logo

शनिबारका लागि घोषणा गरेको चन्द समूहको बन्द फिर्ता



काठमाडौं १४ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आउँदो शनिबारका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ । त्यस दिन एसईई परीक्षा र नेपाल बार एसोसिएसनको चुनाव परेकाले परीक्षा नियन्त्रण कार्यालय र नेपाल बार एसोसिएसनको आग्रह स्विकार्दै बन्द स्थगित गरिएको चन्द समूहले जनाएको छ ।

महासचिव चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बन्द फिर्ताको घोषणा गरेका हुन् । बुधबारै मानव अधिकार आयोगले पनि बन्द फिर्ता लिन र शान्तिपूर्ण रूपमा आफ्ना गतिवधि गर्न यो समूहलाई आहवान गरेको थियो । आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या, हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न चन्द समूहलाई आग्रह गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई राजनीतिक विचार, आस्था र आशंकाका भरमा कुनै नागरिकलाई धरपकड नगर्न र संविधानप्रदत्त अधिकार प्रयोगको वातावरण बनाउन आहवान गरेको छ । चन्द समूहसित वार्ताबाटै समस्याको निकास खोज्न जोड दिइएको छ । ‘कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका संघर्ष एवं आन्दोलनहरू वार्ता र संवादबाटै अन्त्य भएको दृष्टान्तलाई आत्मसात् गर्दै त्यसतर्फ गम्भीर रहन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्