काठमाडौं, १६ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको बताएका छन् ।
अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा उल्लेख गर्दै भने,“नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् लगानी गर्नुहोस् ।”
महतोले नेपालमा लगानी गरेर विश्वमै उच्च नाफा लिन सकिने मुलुकका रुपमा रहेको बताउँदै समस्या हरेक देशमा हुने भए पनि पछिल्ला दिनमा भने नेपालमा खासै लगानीका लागि व्यवधान नरहेको प्रष्ट पारे ।
नेपाली जनता र नेपालको सरकारी संयन्त्र सहजरुपमा उपलब्ध हुने भएकाले लगानीका लागि कुनै झन्झट व्यहोर्नु नपर्ने उनले बताए । उनले विश्वका विकसित देशमा समेत एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न असजिला प्रक्रिया छन् तर नेपालमा त्यस्तो नभएको अनुभव सुनाए ।