चैत २०, काठमाण्डौ । नेपाल सरकारले जेष्ठ नागरिकको सुविधाका लागि भन्दै विभिन्न स्थानमा वृद्धाश्रम सञ्चालन गरेको छ । सरकारको अनुदान र समुदायको सञ्चालनमा रहेका वृद्धाश्रममा सयौँ जेष्ठ नागरिक बस्दै आएका छन् ।
तर सरोकारवाला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाजकल्याण परिषद् भने देशमा कति वृद्धश्रम छन्, ती कसरी चल्छन् र त्यहाँ आश्रित ज्येष्ठ नागरिकको अवस्था कस्तो छ भन्नेबारे जानकारी नै छैन ।। एक रिपोर्ट ।।
मुलुकका विभिन्न भागमा वृद्धाश्रम सञ्चालनमा छन् । कतिपय वृद्धाश्रम सरकारी तबरमा चलेका छन् भने कतिपय सरकारी अनुदानमा सञ्चालमा रहेका छन् । यसैगरी विभिन्न संस्था वा समुदायको पहलमा वृद्धाश्रम सञ्चालन भइरहेका छन् । आश्रममा वेवारिसे घरवारवीहिन र अशक्त वृद्धवृद्धा आश्रय लिइरहेका छन् ।
नेपालमा कति वृद्धाश्रम सञ्चालनमा छन् ? तिनीहरू कसरी चलिरहेका छन् र त्यहाँ आश्रित बालबालिकाले पाउने सेवा कस्तो छ, भन्ने विषयमा भने सरकोकारवाला निकायले कमैमात्र चासो देखाउने गरेको छ ।
नियामक निकाय समाज कल्याण परिषद् भने सामाजिक संघ संस्थाहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत अनुदान प्राप्त गरेर विभिन्न ठाउँमा बृद्धाआश्रम सञ्चालन गरिएको बताउँछ । यसको जानकारी आफूहरूसँग नहुने परिषद्का सचिव दुर्गाप्रसाद प्रसार्इँले बताए ।
यता मन्त्रालय अन्र्तगतको समाज कल्याण तथा संघ सस्था महाशाखाले भने आफ्नो मातहतबाट भन्दा स्थानीय र प्रदेश स्तरका सरकारी निकायहरुबाट जेष्ठ नागरिकहरुको व्यवस्थापन हुने गरेको बताउँछ । जेष्ठ नागरिकको लागि भनेर आफुहरुले बजेट नछुट्याउने सिधै प्रदेश र स्थानीय तहमा जाने महाशाखाका उप सचिव वीरबहादुर राईको दाबी छ ।
जेष्ठ नागरिकहरू मुलुकका सम्पत्ति हुन् । उनीहरूको अनुभवलाई ग्रहण गरेर मात्र नयाँ पुस्ताले भावी बाटो निर्माणको खाका कोर्न सक्दछ ।
उनीहरूको उचित सम्मानबाट मात्र सुसंस्कृत समाजको निर्माण हुन्छ । जीवनको उत्तरार्धमा पुगेका नागरिकहरूले कस्तो जीवनयापन गरिरहेका छन् भन्ने सूचना सरोकारवाला निकायमा नहुनु साँच्चै लज्जाजनक विषय हो ।सरकारी निकायबीच दोषारोपण नगरी आफ्ना ज्येष्ठ नागरिकहरूको जीवनयापन सहज बनाउन सरकारले चाँडै सोच्नुपर्दछ ।