काठमाडौं २२ चैत । २७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरवाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो ।
जहाज बेलैमा नउडाएको आक्रोशमा १५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीलाई हम्मेहम्मे परेको थियो ।
विमानस्थल प्रहरीका अनुसार यात्रुले निगमविरुद्ध नारावाजी गरेका थिए । केहीले जहाजमा राखेको मिल (खाना) आफैं निकालेर खाए ।
मंगलबार राति ८ बजेदेखि बोर्डिङ गराइएका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा ‘अफ बोर्ड’ गराइएको थियो । –कान्तिपुर दैनिकबाट