काठमाडौं, २१ चैत । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली नेपाली नयाँ वर्ष २०७६ मा कर्णाली प्रदेश जाने भएका छन् । कर्णालीमा पुगेर सम्बोधन गर्नेगरि अहिले प्रधानमन्त्री आन्तरिक तयारीमा जुटेका छन् । विकास र समृद्धिलाई सुरुवातदेखि नै जोड दिँदै आएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीलाई मूल मन्त्र बनाएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षमा अहिले भएका आफ्ना सल्लाहकार र सहयोगीको टिमलाई हटाएर नयाँ टिम बनाउने पनि तयारी गरेको उनीनिकट उच्च स्रोतले जनाएको छ । त्यस्तै, मन्त्रीहरुको प्रस्तुति पनि चित्तबुझ्दो नभएकोले केही मन्त्रीहरु हटाएर उनीहरुको ठाउँमा काम गर्नसक्ने र आफ्नो ‘स्पिरिट’ समात्न सक्नेलाई ल्याउने प्रधानमन्त्रीको तयारी । यी सबै काम गर्नको लागि प्रधानमन्त्री ओलीले नयाँ वर्षलाई पर्खिरहेका छन् ।
त्यस्तै, पार्टीभित्रको एकताको कामलाई द्रुत गतिमा अघि बढाउनेपनि प्रधानमन्त्री ओलीको योजना छ । प्रधानमन्त्रीनिकट स्रोतले भन्यो,‘पार्टीभित्रको एकता प्रक्रिया टुँगो लगाउनको लागि प्रधानमन्त्रीज्यू गम्भिर भएर लाग्नुभएको छ, उहाँले अब नयाँ वर्षको सुरुवातदेखि नै यो कामलाई नै फत्ते गर्नेगरि गृहकार्य गर्नुभएको छ । अब एकता प्रक्रिया छिट्टै टुँगो लाग्छ ।’