Logo

१८ वर्षदेखि व्यवसाय गर्दै न्यूनदृष्टियुक्त



चिप्लेढुङ्गा, ११ वैशाख । पोखरा बागलुङ भूपि शेरचन राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आउनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आउनुभएको हो । क्षयरोगका बिरामी उहाँले नौ वर्षसम्म नियमित औषधि खानुहुन्थ्यो । विस्तारै औषधिको असरले उहाँको दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताउनुभयो ।

एक छोरा, दुई छोरीका बुबा उहाँले सोही समस्याका कारण ५ कक्षाको मात्रै अध्ययन गर्नुभएको छ । “शुरुका दिनमा छरछिमेकको घरमा खुर्सानी मसला कुट्दै आएको थिएँ । २०५८ मा राजमार्गमा होटल खुल्दै गएपछि आफैँले टिमुर र खुर्सानी बेच्न थालेको हुँ ।” उहाँले भन्नुभयो । बागलुङ–पोखरा राजमार्गमा लुम्ले कृषि अनुसन्धान केन्द्रको मुलगेट अगाडि रहेको दाजुको होटलबाट उहाँले व्यापारको शुरुआत गर्नुभयो ।
बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक आठ घण्टा ओखलमा निरन्तर टिमुर खुर्सानी कुटेर धुलो बनाउँदै आउनुभएको छ । पोखरा–बागलुङ राजमार्गमा उनको होटलमा खाजा खाना आउनेदेखि बाटोमा हिँड्दा देख्नेसम्म उहाँका ग्राहक छन् ।

नेपाल दृष्टिविहीन सङ्घ कास्कीको कार्यसमिति सदस्यसमेत रहनुभएका तुलाचनले सरकारले अपाङ्गता भएकालाई पनि विभिन्न रोजगारमूलक अवसर प्रदान गर्दै आएको भन्दै सबैले आफ्नो सीप र क्षमताअनुसारको काम गरेर आत्मनिर्भर हुन आग्रह गर्नुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्