नयाँ दिल्ली, १६ बैशाख । भारतमा यतिवेला लोकसभाको निर्वाचन जारी छ । आजबाट चौथो चरणको निर्वाचन सुरु भएको छ । तर, सत्तारुढ भाजपा र कंग्रेस आईका नेताहरुबीच चुनावी जुहारी चलिरहेको छ । यतिसम्म कि उनीहरु एक अर्काकाविरुद्ध तल्लो स्तरमा उत्रिएर गालीगलौज गर्नसमेत पछि परेका छैनन् ।
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेकी छन् । महासचिव प्रियंका गान्धी वाड्राले आफूलाई अहिलेसम्म प्रधानमन्त्री मोदीको जात के हो भन्ने थाहा नभएको बताएकी हुन् ।
अमेठीमा आइतबार पत्रकारसँगको कुराकानीको क्रममा प्रियंकाले विपक्षी पार्टीले यो कुरा कहिले नउठाएकी बताएकी हुन् ।
उनले भनेकी छन्, ‘अहिलेसम्म थाहा छैन कि प्रधानमन्त्री कुन कास्ट (जात) को हुनुहुन्छ । र मलाई थाहा भएसम्म विपक्षीले कहिल्यै पनि व्यक्तिको जातका बारेमा कुरा गरेको छैन, विशेष गरि कांग्रेसका नेताहरुले । हामीले मात्रै विकासका मुद्दा उठाएका छौँ । हामीले जनताको चासोका विषयमा मात्रै बोलेका छौँ, व्यक्तिगत आलोचना गरेका छैनौँ ।’
जनताको आदर गर्नु सबैभन्दा ठूलो राष्ट्रवाद रहेको बताएकी छन् । यस्तै जनताको समस्याको हल गर्नु राष्ट्रवाद रहेको उनले उल्लेख गरेकी छन् । अहिले बोल्नेहरुको आवाज बन्द गर्ने अवस्था रहेकाले देशमा लोकतन्त्र र राष्ट्रवाद दुवै नरहेको प्रियंकाले आरोप लगाएकी छन् । कांग्रेसले चुनावमा रोजगार, शिक्षा, स्वास्थ्यसहितका मुद्दालाई केन्द्रमा राखेको बताएकी छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीले जात तथा धर्मको राजनीति गरेको आरोप लगाएका थिए । मायावातीले प्रधानमन्त्री मोदीले आफ्नो स्वार्थका लागि आफूलाई पीछडिएको जातिको बताएको आरोप लगाएकी थिइन् । प्रधानमन्त्री मोदीले त्यसको जवाफ पनि दिएका छन् ।
प्रियंकाले यसअघि भाजपाका नेताहरुले आफ्ना दाइ तथा कांग्रेस अध्यक्ष राहुल गान्धीको जात तथा गोत्रलाई लिएर गरेको विवादप्रति पनि जवाफ दिएकी हुन् । एजेन्सीको सहयोगमा