वैशाख १९, काठमाण्डौ । नेपालमा खेलाडिलाई सरकारले उचित सम्मान र स्थान दिन सकेको छैन । खेलमार्फत विश्वभर नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडिले उचित पारिश्रमिक पाउन सकेका छैनन् । सरकारले घोषणा गरेको नगदसहितको सम्मान पनि समयमा दिइदैन । प्रतियोगिता जितेको झण्डै तीन बर्षपछि साग फुटबलका स्वर्ण पदक विजेता र एक दिवसीय मान्यता पाएपछि दिने भनिएको नगद पुरस्कार बल्ल आज वितरण गरिएको छ ।
सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि जितेका खेलाडीलाई पूर्व घोषित पुरस्कार हस्तान्तरण गरेको छ । बिहिबार युवा तथा खेलकुद मन्त्रालयले नेपाली फुटबल, क्रिकेट र शारिरिक सुगठनका खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता सागमा स्वर्ण जितेको पुरुष फुटबल टिमका सदस्यलाई बाँकी रहेको पुरस्कार रकम हस्तान्तरण गरेको छ । सरकारले स्वर्ण विजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको थियो । तर सरकारले खेलाडीलाई दुई लाख दिएर बाँकी तीन लाख रुपैयाँ बाँकी राखेको थियो ।
प्रतियोगिता जितेको झण्डै तीन बर्षपछि सागका स्वर्णधारी फुटबलरले तीन लाख रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी एक दिवसीय मान्यता पाएपछि नेपाली क्रिकेट टिमले हालै यूएईविरुद्धको सिरिज जितेपछि घोषणा गरेको ५ लाख रुपैयाँ पनि चार महिनापछि हस्तान्तरण गरेको हो ।
यसैगरी शारिरीक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई पनि नगद ५लाख प्रदान दिएको छ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले खेलमैत्री वातावरण बनाउने आश्वास दिनुभयो । उहाले हिजो पूर्वाधार नहुदा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै अव भने पूर्वाधारदेखि हरेक क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्ने धारणा राख्नुभयो ।
त्यस्तै सरकारबाट पुरस्कृत भएपछि बोल्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले सरकारले क्रिकेट विवाद समाधान गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै महेश्वर महर्जनले सरकारबाट पुरस्कृत हुन पाउँदा खुसी भएको बताउनुभयो ।
कार्यक्रममा सबै खेलाडी भने उपस्थित थिएनन् । फुटबलका अधिकांस खेलाडी बिभिन्न प्रतियोगितामा ब्यस्त रहेकाले र क्रिकेटका खेलाडी कर्णाली प्रिमियर लिगका लागि सुर्खेतमा रहेका कारण केहि खेलाडीमात्र सम्मानमा पुगेका थिए । ढिलै भए पनि सरकारले खेलाडिलाई पुरस्कार दिएर हौसला प्रदान गरेको छ । तर आगामी दिनमा खेल क्षेत्रलाई अझै बढि महत्व र सम्मान प्रदान गर्नु जरुरी छ ।