Logo

‘बाहिर हल्ला भएजस्तो नीति तथा कार्यक्रम हावादारी छैन्, समृद्धिको आधार समातेको छ’



काठमाडौं, २१ बैशाख । अर्थविद् डा. डिल्लीराज खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बाहिर हल्ला भएजस्तो हावादारी नभएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै खनालले मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यअनुरुप नै नीति तथा कार्यक्रम आएको दाबी गरे । उनले भने,‘नीति तथा कार्यक्रमले सुधारको पहल गरेको छ । सुशासनको कुरा गरेको छ। नीति तथा कार्यक्रम कार्यान्वयनको वर्क–प्लान देखिएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले केस्रा–केस्रा केलाएर हेर्ने हो भने नीति तथा कार्यक्रम कुनैपनि कोणबाट हावादारी नभएको जिकिर गरे । आफूले सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रमलाई आलोचनात्मक रुपमा हरेको पनि टिप्पणी गरे । खनालले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई अघि बढाउने आयामको रुपमा नीति तथा कार्यक्रम आएको पनि विश्वास दिलाए ।

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका कार्यहरुलाई एकीकृत गर्ने काम पनि भएको उनको भनाई छ । यद्धपी कतिपय कार्यक्रमहरु महत्वकांक्षी रहेको पनि उनले स्पष्ट पारे ।  उनले भने,‘शहरीकरण गर्ने कुरा र ७ वटै प्रदेशमा उद्योग स्टेट खोल्ने कुरा अलिक महत्वकांक्षी छन् । त्यस्तै प्रत्येक गाउँपालिकामा औद्योगिक ग्राम खोल्नेलगायतका केही महत्वकांक्षी कार्यक्रमहरु पनि ल्याईएको छ।’

उच्च आर्थिक वृद्धिद्धर हाँसिल गर्नको लागि र समृद्धिको मार्गमा मुलुकलाई अघि बढाउनको लागि नीति तथा कार्यक्रमले थप आधार प्रस्तुत गरेको उनको दाबी छ । तर, केही कार्यक्रमहरु छरिएकोमा भने उनले गुनासो पोखे ।

उनले भने,‘केही कार्यक्रमहरु छरिएका भएपनि ठिक ढंगले तर्जुमा गरिएका छन् । निजी क्षेत्रको लगानीको वातावरण बनाउनुपर्ने र उनीहरुको कारोबार र उत्पादन लागत कम गर्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्नेमा पनि जोड दिए । लगानीलाई सन्तुलित ढंगले परिचालन गर्नुपर्ने खनालले बताए ।

९ महिनामा सरकारको पुँजीगत खर्च जम्मा ३५ प्रतिशतमात्रै भएको बताउँदै उनले खर्च गर्नसक्ने क्षमता बढाउनुपर्नेमा खनालको जोड छ । दोहोरो आर्थिक वृद्धि हाँसिल गर्नको लागि सरकारले नीतिगत–संरचनागत सुधारतर्फ विशेष ध्यान दिनुपर्ने उनले सुझाए ।

अहिले जारी रहेका परियोजनाहरुलाई पूर्नसंरचना गरिएको, सरकारी खर्चको दक्षता बढाउने कामलगायत नीति तथा कार्यक्रममा राम्रा कुराहरु रहेको पनि उनले सुनाए । निजी क्षेत्रको लगानी प्रर्वद्धनमा सरकारले जोड दिएको पनि खनालले स्पष्ट पारे ।

कृषि अनुदानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए । त्यस्तै, सिँचाईको हकमा पनि सिक्टा, रानीजमारा, भेरी–बबई डाईभर्सन ठीक ढंगले अघि बढाउने कुरा कार्यक्रममा आएको उनले जनाए ।

त्यस्तै ५ लाख थप रोजगारी सिर्जना र ५० हजार रोजगारी बैंकिङ क्षेत्रबाट सिर्जना गरिने कुरापनि कार्यक्रममा समेटिएको भन्दै यो राम्रो पक्ष भएको टिप्पणी गरे । कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर सञ्चालनमा ल्याउने र योसँगै फाष्ट ट्रयाक, रेलवेजलगायत निर्माणको कुरा कार्यक्रममा समेटिएको उनले जनाए ।

आगामी एक वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा र आगामी दुई वर्षभित्र पूर्ण साक्षरता बनाउने कार्यक्रमपनि आएको भन्दै उनले यी सबै सकारात्मक कुरा भएको बताए ।



प्रतिक्रिया दिनुहोस्