प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका नायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अर्को वर्ष ‘वैशाख डे’ मनाउने निर्णय गरेको बताउनुभएको छ । भगवान् बुद्धको २५६३औँ बुद्धजयन्तीका अवसरमा आनन्दकुटी विहारमा आज आयोजना गरिएको सभामा उहाँले भियतनाम तथा क्याम्बोडिकाको भ्रमणका अवसरमा विश्वका बुद्धधर्मावलम्बी तथा नेतालाई अर्को वर्ष लुम्बिनीमा हुने वैशाख डेमा भाग लिन आउन आमन्त्रण गरेको जानकारी दिनुभयो ।
नेपालमा बुद्ध जन्मेको भए पनि विश्वलाई शान्ति, सद्भाव तथा दया, माया तथा भ्रातृत्वभावको मार्ग देखाएको बताउँदै प्रधानमन्त्री ओलीले बुद्धको ज्ञानलाई २५०० वर्षपछि पनि सूत्रबद्ध गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भगवान् बुद्ध त्यस्तो व्यक्ति हुनुहन्छ, उहाँले प्राप्त गरेको बोधिज्ञानले २५०० वर्षभन्दाअघिदेखि विश्वलाई प्रज्वलित गरिरहेको छ ।” प्रधानमन्त्री ओलीले गौतमबुद्धको जन्म लुम्बिनीमा नै भएको हो भनी स्तम्भ निर्माण गरेर बुद्ध जन्मको इतिहासलाई जीवित पार्ने तथा प्रमाणका रुपमा स्तम्भ निर्माण गर्ने सम्राट अशोकको पनि स्मरण गर्नुभयो ।
नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेराले विश्वभर शान्ति र सद्भाव फैलाउने भगवान् गौतमबुद्धको ज्ञान आज पनि महत्वपूर्ण रहेको बताउँदै बुद्धजयन्तीको दिन श्रीलङ्कामा बिदा दिइने गरेको चर्चा गर्नुभयो । उहाँले सन् १९९० मा बुद्धको जन्म, बोधिज्ञान प्राप्त तथा महापरिनिर्वाणको दिवसको दिनलाई वैशाख डेका रुपमा मनाउने संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको जानकारी दिनुभयो । नेपाल र श्रीलङ्काबीच सन १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि द्विपक्षीय मैत्रीसम्बन्ध विकास भएको चर्चा गर्दै लुम्बिनी, रामग्राम, निग्लिहवा, गोटीहवाजस्ता थुप्रै बुद्धधर्मको तीर्थस्थलले दुई मुलुकबीचको धार्मिक सम्बन्ध थप प्रभावकारी भएको बताउनुभयो ।
बुद्धजयन्ती समारोह समितिका उपाध्यक्ष भिक्षु कौदन्य महास्थवीरले भियतनाममा हालै सम्पन्न वैशाख डेमा प्रधानमन्त्रीका साथ भियतनाम जान पाएको र त्यहाँ प्रधानमन्त्रीले अर्को वर्ष लुम्बिनीमा वैशाख डे मनाउने घोषणा गरी विश्वका नेतालाई आमन्त्रण गरेको स्मरण गर्दै अर्कौ वर्ष हुने वैशाख डेमा सरकारलाई सफलता मिलोस् भनी कामना गर्नुभयो ।
उहाँले विसं १९८१ तिर नेपालमा राणा शासनले भिक्षुलाई बुद्धधर्म प्रचार गरेको आरोपमा देश निकाला गरेको स्मरण गर्दै चन्द्रागिरि डाँडा कटाई देश निकाला भएका आठ जना भिक्षुलाई विसं २००३ मा मात्र देशमा प्रवेश पाएको स्मरण गर्नुभयो । २५६३ औँ बुद्धजयन्ती समारोह समितिका महासचिव भिक्षु प्रियदर्शी महास्थवीरले बुद्धको शिक्षालाई सबैले व्यवहारमा उतार्न सकेमा देशमा सच्चा शान्ति हुने बताउनुभयो । बुद्धजयन्ती समारोह समितिका अध्यक्ष एवं आनन्दकुटी विहारका प्रमुख भिक्षु मैत्रय महास्थवीरले गौतमबुद्धको जन्मभूमि नेपालमा शान्तिको सन्देश प्रचारप्रसार गर्ने तथा बुद्धको ज्ञान जनजनमा फैलाउनुपर्ने बताउनुभयो ।
त्रिपिटक
बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गर्नुभएको थियो । गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । त्रि–अर्थात् तीन वटा थैला–अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह ‘त्रिपिटक’ हो ।
बुद्ध महापरिनिर्वाण हुनुभएको तीन महीनापछि इसापूर्व ४८३ मा मगधका राजा अजातशत्रुको संरक्षणमा भिक्षु महाकाश्यप महास्थवीरको नेतृत्वमा ५०० अर्हत भिक्षुको समागममा बुद्धवचन र विनयको सङ्ग्रह गरियो । यसलाई प्रथम ‘संगायन’ भनिन्छ । यसको १०० वर्षपछि वैशालीमा राजा कालाशोकको संरक्षणमा भिक्षु रेवत महास्थवीरको नेतृत्वमा दोस्रो संगायन भयो ।
सम्राट अशोकको समयमा अर्थात् इसापूर्व २४८ मा भिक्षु मौगल्लीपुत्ततिस्स महास्थवीरको नेतृृत्वमा एक हजार भिक्षुको समागममा तेस्रो संगायन तथा बुद्ध महापरिनिर्वाण भएको ४५४ वर्षमा लङ्काद्विपका राजा बट्टगामिनीको शासनकालमा चतुर्थ संगायन भयो ।
यसअघि त्रिपिटक ताडपत्रमा लिपिबद्ध थियो । गुरुशिष्य परम्पराअुनसार त्रिपिटक कण्ठस्थ पारी रक्षा गर्ने चलन थियो । आचार्य भिक्षु अमृतानन्द महास्थवीरले पहिलोपटक त्रिपिटकलाई पाली भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । त्रिपिटकमा ८४ हजार स्कन्ध तथा श्लोक छन् ।रासस