काठमाडौं, १५ जेठ । सरकारले १८ आयोजनाबाट ३५ सय मेगावाट बिद्युत उत्पादन गर्ने अभियान बजेटमा प्राथमिकताकासाथ अघि सारेको छ। सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ बिनियोजन गरिएको बताए ।
यसैगरी माथिल्लो अरुण, तल्लो अरुण, किमाथांका, नलसिंह गाडलगायत १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने अभियान अघि बढाइने बजेटमा उल्लेख छ। यसैगरी तमोर जलविद्युत आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाका रुपमा अघि बढाउने पनि अर्थमन्त्रीले घोषणा गरेका छन्।
तराईमा गुँइठाको बिस्थापन गर्न बैकल्पिक उर्जा प्रवर्द्धनकालागि स्वच्छ उर्जा कार्यक्रम संचालन गर्ने पनि अर्थमन्त्रीले बताएका छन्। उर्जा क्षेत्रका लागि सरकारले ८३ अर्ब ४९ करोड बिनियोजन गरेको छ।