काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौथो महाधिवेशनको शुरुआत गर्नुपर्ने अवस्था रहेको औंल्याएका छन् । सिँगो पार्टी पँक्ति नै जागरण अभियानमा जुटिरहेको बेला नेता कोइरालाले भने फरक विचार अघि सारेका छन् ।
नेपाली काङ्ग्रेस पनौती नगरसमितिले बुधबार काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले जागरण अभियानले गर्दा चौथो महाधिवेशन धकेलिने र स्थानीय निर्वाचनमा असर पार्ने भएकाले अब पार्टीले चौथो महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, “पार्टीका लागि जागरण अभियान जरुरी हो कि चौथो महाधिवशेनको शुरुआत गर्न जरुरी हो रु” अहिले काङ्ग्रेसको गाउँपालिका र नगरपालिकाको संरचना नभएको अवस्थामा कसलाई कसरी मान्ने भन्ने प्रश्न उठेको नेता कोइरालाको भनाइ थियो । “मेरै क्षेत्रमा तीन÷तीन जना सभापति छन् कसलाई मान्ने”, प्रश्न गर्दै उनले भने, “गाविस वडामा परिणत भइसक्यो कसलाई मान्ने त्यसमा काङ्ग्रेस चुकिरहेको छ ।”
नेता कोइरालाले अहिलेको बजेट ८० प्रतिशत केन्द्रमा, छ प्रतिशत प्रदेशमा र बाँकी १४ प्रतिशत मात्रै स्थानीय तहमा दिइएकाले पनि सरकार अधिकारलाई केन्द्रमा नै राख्न खोजिरहेको आरोप लगाए ।