Logo

महिला हिंसाका घटना बढेकामा चिन्ता व्यक्त



महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देशभरिमा महिला हिंसाका घटनामा वृद्धि भएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको लैङ्गिक हिंसा, भु्रण हत्या, बालविवाह, दाइजोलगायतका कुरिति विरुद्ध स्थानीय जनप्रतिनिधिसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले घरपरिवारबाटसमेत महिला असुरक्षित भइरहेका बताउनुभयो ।
उहाले भन्नुभयो,“अहिले सबैभन्दा नजिकको सरकारका स्थानीय जनप्रतिनिधिले यस्ता विद्यमान समाजमा जरा गाडेर बसेका कुरिति अन्त्यका लागि नीति,नियम तथा कानून र योजना बनाएर कुरिति हटाउन अग्रसर हुनुपर्छ ।”

उहाँले स्थानीय सरकारका जनप्रतिनिधिले जति क्रियाशील भएर अगाडि बढ्नसक्यो त्यति नै विद्यमान कुरिति अन्त्य गर्न सहज हुने बताउनुभयो । अहिले हामीले महिलाको हकअधिकार र प्रतिनिधित्वको सवालमा आवाज उठाउँदै गरेकाले अहिले आमाको नामबाट समेत छोराछोरीले नागरिकता पाउने प्रावधान आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ निकै कुरितिले घेरिएको प्रदेश रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक घरेलु हिंसा, गर्भ परीक्षण गराई आमाको पेटभित्र छोरा कि छोरी भनेर पहिचान गराउँदै गर्भपतन गराउने, छोरीलाई सरकारी र छोरालाई निजी विद्यालयमा पढाउने, बालविवाह, हत्या र दाइजोको लेनदेनमा हाम्रो प्रदेश नं २ अगाडि नै पर्ने भएकाले गर्दा यसको निराकरणको लागि प्रदेश सरकार अग्रसर छ ।”
उहाँले प्रदेशको सभ्रान्त परिवारमा दाइजोदेखि लिएर समाजिक अपराधका क्रियाकलाप हुँदै आएकाले कानुनको कार्यान्वयन पक्ष बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशका १ कक्षादेखि ८ कक्षासम्म अध्ययनरत अति विपन्न परिवारका बालबालिकालाईप्रति महीना रु पाँच सयको दरले बीमा प्रोत्साहन योजना ल्याएको बताउनुभयो ।

उहाँले अब कक्षा ८, ९ र १२ मा पढने १४ हजार छात्राका लागि साइकल वितरण गर्न लागेको समेत जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश २ मा सामाजिक कुरुतिका घटना निकै रहेकाले यसको अन्त्यका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा धनुषाका १८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत महिला जनप्रतिनिधिको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्