Logo

भक्तपुर अस्पतालका कर्मचारी आन्दोलित



काठमाडौं ३२ जेठ । वर्षैंदेखि खाईपाई आएको सेवा सुविधा कटौती गरेको भन्दै भक्तपुर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। आफूहरूसँग छलफलै नगरी सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड काटिएकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै उनी आन्दोलनमा उत्रेका हुन्।

वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका कर्मचारीले कटौती गरिएको सेवा सुविधा उपलब्ध नगराइए आइतबारदेखि अस्पताल नै ठप्प पार्ने चेतावनी दिएका छन्। आन्दोलनरत कर्मचारीहरूको संगठनका अध्यक्ष मदन देउलाले आइतबारसम्म आफूहरूको माग पूरा नभए अस्पतालको सेवा रोकिने चेतावनी दिए।

एक सातादेखिको आन्दोलनलाई अस्पताल विकास समिति र प्रशासनले वेवास्ता गरेको भन्दै अध्यक्ष देउलाले भने, ‘आइतबारसम्म हाम्रो मागको सुनुवाइ नभए सेवा ठप्प हुने गरी आन्दोलन गर्छौं।’

अस्पताल प्रशासनले तत्कालीन अस्पताल विकास समितिले नियुक्त गरेका २२ कर्मचारीको सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड रोकेको हो। साउनदेखिको सञ्चयकोष, महंगी भत्ता, बिदा र ग्रेड नपाएको संगठनकी सचिव सुनिता श्रेष्ठले बताइन्।

उनले आफूहरुको सेवा सुविधा रोक्न अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा नै अघि सरेको आरोप लगाइन्।

मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृत रूपमा सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेकी थिइन्। सोही पत्रअनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयले सुविधा कटौती गरेको हो।

यसअघि कर्मचारीले अस्पताल विकास समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन र लेखा अधिकृतका कार्यकक्षमा तालाबन्दी गरेका थिए।

हातमा कालेपट्टि बाँधेर आन्दोलनमा उत्रिएका उनीहरूले माग पूरा गर्न अस्पताल विकास समिति र प्रशासनलाई आइतबारसम्मको अल्टिमेटम दिएका छन्। आन्दोलनमा करार सेवाका १३ कार्यालय सहायकले पनि साथ दिएका छन्।



प्रतिक्रिया दिनुहोस्