काठमाडौं २ असार । सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ । सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ ।
राम्रो काम र आकर्षक आम्दानीका लागि विदेश जानेहरु दक्ष हुन आवश्यक भए पनि एक महिनाको छोटो तालिमले तात्विक फरक पार्ने सम्भावना भने देखिँदैन । बरु तालिमको बहानामा कामदारको वैदेशिक रोजगारी लागत कम्तीमा ३० हजार रुपैयाँले बढ्ने देखिएको छ ।
सीप नसिकी विदेश जाँदा आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको भन्दै असार १५ देखि सीप सिकेकालाई मात्र श्रम स्वीकृति दिने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।
हाल वैदेशिक रोजगारीमा जानुअघि तीन दिनको अभिमुखीकरण तालिम लिनुपर्ने नियम छ । उक्त अभिमुखीकरण तालिम पर्याप्त हुन नसकेपछि कम्तीमा एक महिने सीपलाई अनिवार्य गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । –नागरिक दैनिकबाट