Logo

विप्लवः सधै विद्रोही



माओवादी पृष्ठभूमिका नेत्रविक्रम चन्द विप्लव सधै विद्रोही बनिरहे । माओवादीले सशस्त्र जनयुद्ध गरिरहँदा पनि उनी उग्र विचार राख्थे । विद्रोहका भाषा बोल्थे । क्रान्ति पूरा नभएकाले पूरा गर्नुपर्ने भन्थे ।

विप्लवसँग लामो समय संगत गरेका तत्कालिन माओवादीका एक नेताको भनाईमा विप्लवले युद्धको मोर्चामा भन्दा वैचारिक विद्रोहमा समय खर्चिइरहे । उनले कुनैपनि जोखिमयुक्त युद्ध लडेनन् । तर, पार्टीको संस्थापन पक्षको विरोधी बनिरहे ।

माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आउँदा विप्लवले मन्त्री पाउन सक्थे । तर, उनले ती अवसर पाउने कसरत गरेनन् । प्रचण्ड र बाबुरामलगायतका नेताले आफूलाई समयानुकूल परिवर्तन गरे । प्रचण्ड मध्यमार्गी धारको एमालेसँग एकता गरेर एकीकृत पार्टीको अध्यक्ष बने । बाबुराम कम्युनिष्ट विचारधारा त्यागेर नयाँ शक्ति पार्टी हुँदै समाजवादी पार्टी नेपालका अध्यक्ष बने । तर, विप्लवले कम्युनिष्ट राजनीतिक त्यागेनन् ।

विप्लव अहिले देशको सबैभन्दा उग्र कम्युनिष्ट पार्टीको नेता बनेका छन् । विप्लव समूह भनिने उनको दल सरकारको ठूलो चुनौती बनेको छ । वार्ताका लागि आव्हान गर्दा समेत आउन मानेको छैन । त्यसैले, विप्लव समूहप्रति सरकार कडा बन्दै गएको छ ।

को हुन् विप्लव

रोल्पामा जन्मिएका विप्लव ठकुरी परिवारका हुन् । उनका बाबु चन्द ठकुरी हुन् भने आमा मगर हुन् । रोल्पाको राजनीतिक वातावरणले विप्लवलाई कम्युनिष्ट बनायो । कलेज जीवनमै पूर्णकालीन सदस्यका रुपमा सक्रिय भए ।

कानुनको अध्ययन समेत गरेका उनी तर्कसंगत तरिकाले बोल्न सिपालु थिए । माओवादीले जनयुद्ध शुरु गर्दा ललितपुर सेक्रेटरी भए । कर्णालीमा खटिए । माओवादीभित्र पढेलेखेका युवाहरुमध्ये विप्लव पनि थिए । हक्की र आँटिला स्वभावका उनले युवावस्थामै केन्द्रीय कमिटिमा स्थान बनाए ।

सधै विद्रोही स्वभाव देखाउने विप्लव जनवादी क्रान्तिमा जोड दिइरहन्थे । रोल्पा इञ्चार्ज भएर काम गरे । प्रचण्डसँग नजिक रहेर काम गरे । तर, विप्लव कुनै हालतमा सरकारमा जान नहुने तर्क राख्थे । उनी सत्ता कब्जाको पक्षमा उभिन्थे । विप्लवले उग्रवादी विचार नछाडेपछि प्रचण्डले दूरी बढाए । सुदुरपश्चिमको इञ्चार्ज बनाए ।

माओवादीले जनयुद्ध छाडेर आत्मसमर्पण त गरेन भनी प्रश्न गर्थे । क्रान्ति सम्पन्न नभएको तर्क गरेर क्रान्ति जारी रहेकोमा जोड दिन्थे । विप्लवले क्रान्ति पूरा गर्न लागिपरेको तर्क गर्दै आएका छन् ।

प्रचण्ड सत्तामा पुगेपछि विप्लवले असन्तुष्ट माओवादीलाई आकर्षित गर्न थाले । माओवादीभित्र विद्रोहीलाई समेटेर नेता बन्ने योजनामा लागे । प्रचण्डको विरोधमा तत्कालिन माओवादीभित्र मोर्चाबन्दीमा लागे । बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनका लागि २०६८ सालमा भएको धोबिघाट बैठकमा बाबुरामको पक्षमा उभिए ।

२०६९ मा माओवादी विभाजन हुँदा विप्लव मोहन वैद्य किरणको पक्षमा गए । क्रान्ति सम्पन्न नभएको भन्दै फुटेको दलमा विप्लव सचिव भए । नेपाल कम्युनिष्ट पार्टी माओवादीमा बादल र विप्लब समूह बन्यो । २०७१ सालमा बनेको दल अर्धभूमिगत भयो । उसका गतिविधि सशस्त्र गतिविधितर्फ उन्मुख भयो ।

अहिले विप्लवको दल सरकारको मुख्य चुनौती बनेको छ । विप्लवले जनसरकार बनाउने देखि चन्दा संकलनमा सक्रियता देखाइरहेका छन् । सरकारले उनलाई देशभित्र सबैभन्दा ठूलो थ्रेटका रुपमा लिएको छ । विप्लव कुनैबेलाका सहकर्मीहरुविरुद्ध उभिएका छन् । उनको विद्रोही स्वभावले अझै निरन्तरता पाइरहेको छ । Photo: SETOPATI



प्रतिक्रिया दिनुहोस्