काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई नहटाएर ओली सरकार नै ढल्ने दाबी गरेका छन् । मन्त्री पण्डितले लोकसेवा आयोगको विज्ञापन निकाल्दा संविधानको मर्म र भावनाविपरित ल्याउने काम गरेको यादवको आरोप छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्री यादवले यस्तो बताएका हुन् ।
फरक प्रसँगमा उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग एकता गर्नेगरि आफूहरुले गृहकार्य गरिरहेको पनि जानकारी दिए । उनले बाहिर जे जस्तो हल्ला भएपनि समाजवादी पार्टी र राजपाबीच एकता भएरै छाड्ने दाबी गरे । पार्टी एकता जनताको चाहना भएको उनको भनाई छ ।