Logo

गुठी संरक्षणका लागि खबरदारी गर्दै मोटरसाइकल जुलुस हुने



काठमाडौं, १४ असार । सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठियार र सम्पदा अभियन्ताहरुले खबरदारी जारी राखेका छन् । उनीहरुले गुठी संरक्षणका लागि अधिकार सम्पन्न आयोग गठन गरी कानुन निर्माणको माग गर्दै खबरदारी जुलस गर्ने भएका छन् ।  राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले शनिबार विहान खबरदारी जुलुस निकाल्ने भएको छ ।

समितिले काठमाडौं उपत्यकाको छ स्थानबाट मोटरसाइकल जुलुस निकाल्ने भएको छ । हाम्रो पहिचान गुठि र स्वाधिनताको लागि भन्दै निकालिने जुलुसको पहिलो रुट न्युरोडको जुद्ध शालिकबाट गौशाला हुने जानकारी सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दोस्रो रुट गौशालाबाट पुरानो थिमी, तेस्रो पुरानो थिमिबाट सिद्धपोखरी, चौंथो सिद्ध पोखरीबाट मंगलबजार, पाचौं मंगलबजारबाट कुलेश्वर र छैठौं कुलेश्वरबाट किर्तिपुर गेटमा पुग्नेछ । उपत्यकाको तीनवटै जिल्ला घुम्ने जुलुसले सरकारलाई बलियो कानुन निर्माण गरी गुठी संरक्षण गर्न खबरदारी गरिने श्रेष्ठले बताएका छन् । उनले भने, “सरोकारवाला गुठियार, विद्धत वर्ग सबैलाई समेटेर अधिकार सम्पन्न आयोग गठन गरी अब बन्ने कानुन सबैको मर्म समेट्ने गरी बन्नुपर्छ ।”

सरकारले ल्याएको गुठी विधेयकविरुद्ध आन्दोलन उठेपछि राष्ट्रियसभाबाट फिर्ता गरिसकिएको छ । तर, आन्दोलनकारीले खबरदारी आन्दोलन नरोकिने बताउँदै आएका छन् । तस्वीरः गणपतिलाल श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्