Logo

मन्त्री पराजुलीले मलाई भन्नुभएको थियो–तपाईको दुर्भाग्य, तर भइदियो उल्टो



-कमलमणि पोख्रेल
(हाल प्राइम टाइम्स टेलिभिजन)

असार १५, काठमाण्डौ । घटना १५ असार २०७२ सालको हो । काठमाण्डौ मुलपानीका स्थानीयले असार १५ गते धान दिवसका दिन रोपाई कार्यक्रमको आयोजना गरेका थिए । प्रमुख अतिथि बनाइएका थिए तत्कालिन कृषि विकास मन्त्री हरि प्रसाद पराजुली ।

११ बजे बोलाइएका मन्त्री पराजुली ३ बजे मात्रै कार्यक्रम स्थल पुगेका थिए । मन्त्री पराजुली हिलो खेल्नकै लागि तयारीका साथ आएका थिए । उनको पहिरन थियो टिसर्ट र हाफ प्यान्ट अनि ह्याट ।

आधुनिक मेसिनबाट धान रोपेर रोपाई महोत्सवको उद्घाटन कार्यक्रम थियो । त्यसअघि औपचारिक भाषण कार्यक्रम पनि थियो ।

धान रोप्ने आधुनिक मेसिन उद्घाटन गर्न पुगेका मन्त्री सुरुमै चिप्लिए । अर्थात पटक पटकको प्रयासमा पनि उनले मेसिन स्टाटै गर्न जानेनन् ।

त्यसपछि सहयोगिद्धारा मेसिन चलाइयो । मेसिन चलाएर उद्घाटन गरेलगत्तै मन्त्री पराजुली हिलो हेल्न तम्सिए । हिलो खेल्दा खेल्दै मैले मन्त्रीसँग छोटो कुराकानी गर्ने प्रयास गरेँ ।

असार १५ का दिन कृषि विकास मन्त्रीसँगको बाइट लिएर मात्रै रिपोर्ट बनाउने मेरो उद्धेश्य थियो । म मन्त्रीको पछिपछि माइक र बुम बोकेर दौडिरहेको थिएँ । मेरो साथमा क्यामरापर्सन सानुबाबु महर्जन थिए ।

तर मन्त्रीले मेरो प्रस्ताव सुरुमा अस्वीकार गरे । मन्त्रीले भनेका थिए–तिमीहरुको टेलिभिजनले मेरो बदनाम गराएको छ । बोल्दिन । यति भन्दै उनी महिला भएतिर लम्किदै थिए ।

मन्त्रीको उग्रता सुरु भइनसकेकाले महोत्सवमा उपस्थित महिलाहरु उनीसँग हिलो खेल्न खोजिरहेका थिए ।

त्यही मौकामा उनले एक महिलालाई अंगालो हालिहाले । एक महिलाको पाखुरामा च्याप्प समातेर उनले भने–अस्तिनै हाम्रो चिनजान भएको हो नि । मन्त्रीले त्यति भनेपछि मलाई पनि लाग्यो, दुई जनाबीच पहिलाकै चिनाजानी होला । तर त्यसो होइन रहेछ ।

महिला उम्कन खोज्दै थिइन, मन्त्रीजीले अंगालै हालेर बाहुपासमा कसिहालेँ । तर महिला फुत्किएर भागिन । अनि फेरी मन्त्रीले भने–हत्तेरिका यसो नगरम् न हो ।

त्यसो त त्यहाँ रमाइलो गर्ने नै परिवेश थियो । तर मन्त्रीले रमाइलोको नाममा हर्कत नै देखाए । अर्थात दृश्य अनौठो र अपाच्य थियो ।

यो सब भइसकेपछि पनि मैले फेरी मन्त्रीको बाइट लिने प्रयास गरेँ । यसपटक भने मन्त्री बाइट दिन तयार भए । अनि छेउमा भएकी महिलालाई तानेर सँगै उभ्याए अनि मँसग कुराकानी गरे ।

कुराकानीका क्रममा अभद्र व्यवहारका विषयमा कुरा गरेनन् । त्यसबेला उनले भनेका थिए–“म मन्त्री भएर आएपछि युवाहरुमा जागरण उत्पन्न भएको छ । त्यो जगरणलाई अझै कायम राख्नका निम्ति ६ प्रतिशतमा सब्सिडिमा दिइने व्याजदरको ऋण थियो त्यो सही ढंगले कार्यविधि समयमै बनाउन नसक्दा कार्यान्वयन भएन । अर्को वर्ष त्यसलाई निरन्तरता आवश्यकता परे अरु चाँही एक अरबसम्म अनुदानका निमित्त नेपाल सरकारले खर्च गर्ने गरी कृषि ऋणलाई सकेसम्म सरल, सहज र सुविधायुक्त बनाउका निम्ति नेपाल सरकार तम्तयार छ । त्यसैको सन्देश दिनका निम्ति १२ औँ राष्ट्रिय धान दिवसको आयोजना गरियो । यसै अवसरमा हामी यि यसरी हिलो खेलियो । तर तपाई खेल्नुभएन दुर्भाग्य ।”

मन्त्रीले म हिलो नखेलेकोमा दुर्भाग्य भनिदिए । तर दुर्भाग्य मन्त्रीकै भयो । त्यो पनि हिलो खेलेकै कारण ।

मेरो दुर्भाग्य के भइदियो भने हाम्रो क्यामराको ब्याट्रिले काम नगरेपछि अरु दृश्य कैद गर्न पाइएन । हामीसँग कुरा गरेपछि मन्त्रीले अगाडि जो महिला भेट्यो उसैलाई समात्ने, टाउकोको हिलो महिलाको छातिमा लगेर पुछ्ने जस्ता हर्कत एकछिन गरिरहे । उनले महिलालाई अंगालो हालेपछि कतिपय महिलाले मन्त्रीलाई गाली गरे ।

धान दिवसको रिपोर्टिङ गर्न गएको म, अब रिपोर्टको एंगल फेरियो । त्यति दृश्य खिचिसकेपछि मैले क्यामरापर्सन सानुबाबुलाई ल अब अफिस जाउँ भने ।

पानी पर्न सुरु गरेको थियो । मोटरसाइकलमा रुझ्दै अफिस पुगियो । अफिस पुगेर फिल्डमा भएको घटनाक्रमबारे समाचार सम्पादक प्रमोद न्यौपानेलाई जानकारी गराएँ । सात बजेको समाचार सुरु हुन आधा घण्टा मात्रै बाँकी थियो ।

न्यौपाने सरको सहयोगमा तत्काल स्किृप्ट तयार पारियो । र दृश्य सम्पादन गरेर सात बजेको समाचारमा प्रशारण गरियो ।

उक्त घटनाक्रमको रिपोर्ट पहिलोपटक एभिन्युज टेलिभिजनबाट प्रशारण भयो । त्यसपछि अन्य विभिन्न संचारमाध्यममा भिडियो र तस्विर प्रशारण प्रकाशन भए ।

मन्त्री पराजुली आलोचित बने । महिलामाथि दुव्र्यवहार भएको भन्दै उनको दल तत्कालिन नेकपा एमालेभित्र समेत राजीनामाको दबाब पर्यो । अन्ततः मन्त्री पराजुली राजीनामा दिन वाध्य भए । धान दिवसको दिन महिलामाथि दुव्र्यवहारको तस्वीरका कारण उनको पद गयो । पराजुलीको राजनीतिक जीवनमै धक्का पुग्ने घटना भयो ।

उनले भनेजस्तो हिलो खेलेर भाग्य अनि नखेलेर दुर्भाग्य भएन । भयो ठिक उल्टो ।

मलाई पछि मनमा के लाग्यो भने मन्त्रीको पद नै चाँही नगएको भए हुन्थ्यो । किनकी मन्त्रीसँग मेरो आग्रह पूर्वाग्रह केही थिएन । फिल्डमा रिपोर्टरले देखेको दृश्यलाई समाचार बनाउनु मेरो कर्तव्य थियो ।

अन्त्यमा :
मन्त्री पराजुलीले त्यसदिन गरेको हर्कतका कारण धेरैले आशंका गरे, उनले मदिरापानसमेत गरेका थिए कि । म उनीसँग बाइट लिने क्रममा केहीबेर नजिक हुने मौका मिल्यो । त्यसबेला मदिरा सेवन गरेको आशंका हुने गरी उनको मुखबाट गन्ध आएको थिएन । तर उनले मुलपानीमा रहिन्जेल मुखमा सुर्ति राखेका थिए ।

उक्त दिनको विषयमा एभिन्युज टेलिभिजनसँग गरिएको छोटो कुराकानी



प्रतिक्रिया दिनुहोस्