Logo

सप्तकोशीमा पानीको बहाब बढ्दै, बस्ती जोखिममा, ६५ साल दोहोरिने डर



असार २७, काठमाण्डौ । लगातारको वर्षाले सप्तकोशी नदी क्षेत्रमा त्रास फैलिएको छ । नदीमा पानीको बहाव अत्याधिक बढेपछि २१ वटा ढोका खोलिसकिएको छ । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

तीन दिनदेखिको वर्षाले सप्त नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा सुक्रवार दिउसो ४ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ९९ हजार ७९० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २१ वटा ढोका खुल्ला गरिएको छ । पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविस डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए । त्यो बेला सप्तकोसीलाई तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो ।

एकपटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काएपनि कुनै पनि बेला बिनासलिला मच्चाउन सक्ने भएकाले गर्दा स्थानीय बासीन्दा हरेक वर्ष त्रासमा बस्नुपर्ने बाध्यता छ ।



प्रतिक्रिया दिनुहोस्