२२ हजार किलोमिटरको यात्रा, त्यो पनि इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट हेर्न । अनुपम माथुर सपरिवार यति लामो यात्रा गरेर बेलायतमा भएको विश्वकप क्रिकेट हेर्न पुगेका थिए ।
सिंगापुरबाट यात्रा शुरु गरेका उनीहरुको साथमा जम्मा पाँचजना थिए ।पत्नी, छोराहरु सात वर्षीय अभिभ र तीन वर्षीय अभय र बाबु थिए ।
माथुर परिवार सिंगापुरबाट मलेशिया, थाइल्यान्ड, लाओस, चीन, किर्गिजस्तान, उज्वेकस्तान, काजगस्तानबाट रुस हुँदै युरोप छिरेका थिए । फिनल्यान्ड, स्वीडेन, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स हुँदै बेलायत पुगेका थिए । ४८ दिनको यात्राको थकान बिर्साउँदै माथुरलाई विश्वकप हेर्ने उत्साहले जागृत गराएको थियो ।
बाल्यकाल देखि नै माथुर क्रिकेटको फ्यान थिए । क्रिकेट हेर्नकै लागि स्कुलबाट भाग्थे । उनले विश्वकप हेर्नका लागि लामो यात्राको जोखिम समेत मोले ।