Logo

के अमेरिकाले इरानसँग वार्ता गर्ला ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानप्रति निकै कठोर बन्दै गएका छन् । उनले इरानमाथि हवाई आक्रमणको आदेश दिइसकेका थिए । अन्तिम समयमा आक्रमण रोक्न निर्देशन दिए ।

इरानसँग अमेरिकाले सन् २०१५ मा आणविक सहमति बनाएको थियो । बाराक ओबामा राष्ट्रपति बन्दा गरिएको सहमतिलाई ट्रम्पले निष्कृय अवस्थामा पुर्याए ।

अमेरिका र इरानबीच खाडीको समुन्द्रमा तनाव बढेको छ । अमेरिकाको निकट देश ब्रिटेन पनि इरानसँग युद्धको नजिक पुगेको छ । यस्तो अवस्थामा अमेरिका र इरानबीच वार्ता होला ?

राजनीति सम्भावनाको खेल हो । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग उत्तर र दक्षिण कोरियाली सीमामा गएर भेटे । एक अर्कालाई दुश्मन जस्तै ठान्ने देशका नेताले तीनपटक भेटवार्ता गरिसके ।

अमेरिका र इरानबीच तत्काल वार्ताको सम्भावना छैन तर यो असम्भव होइन । इरानी नेता हसन रुहानीले अमेरिकाले सन् २०१५ को आणविक सहमतिमा फर्किएर आफूविरुद्ध लगाएको प्रतिबन्ध फुकुवा गरेमा वार्ता हुनसक्ने बताए । २९ असारको टेलिभिजन भाषणममा राष्ट्रपति रुहानीले शर्त मानेमा इरान जहाँ जुनसुकै बेला वार्ताका लागि तयार रहेको अभिव्यक्ति दिए ।

फ्रान्स, जर्मनी र बेलायतले ताजा वार्तामा जोड दिएका छन् । तीनवटै देशले विज्ञप्तिमार्फत् इरानलाई आणविक योजनाबाट पछि हटाएर खाडी क्षेत्रमा तनाव अन्त गर्न वार्तामा बस्नुपर्ने बताएका हुन् ।

वार्ताको भाषा युरोपका शक्तिशाली देशका अलावा इरानी नेता रुहानीले समेत बोलेका छन् । यसले युद्धको कालो बादल मडारिइरहेको खाडी क्षेत्रमा शान्तिको दीयो देखिएको छ । यसलाई निभ्न नदिए खाडीमा शान्ति छाउन सक्छ । Photo: We For News



प्रतिक्रिया दिनुहोस्