असार ३१, काठमाण्डौ । लगातारको वर्षापछि बाढीको प्रकोपमा परेका क्षेत्रमा विभिन्न रोगको महामारी फैलिन सक्ने सम्भावना रहन्छ । पानी र खाद्यजन्य महामारी २४ घन्टा मै फैलिन सक्ने सम्भावना रहन्छ । यस्तै आँखा पाक्ने रोग र छाला सम्बन्धी रोग देखिने सम्भावना छ । रोगको संक्रमण नियन्त्रणका लागि सरकारले भने प्रभावकारी काम गर्न सकेको छैन ।
जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकको बाढी प्रभावित तराई क्षेत्रमा पानी र किटजन्य महामारी फैलिन सक्ने चेतावनी दिएका छन् । यस पटकको बाढीमा धेरै मात्रामा तराईका शहरी र ग्रामिण जनसंख्या प्रभावित रहेकाले प्रकोपको जोखिमसमेत उच्च रहेको बताइएको छ ।
पानी र खाद्यजन्य महामारी २४ घन्टा मै फैलिन सक्ने सम्भावना रहन्छ । हाल बाढी प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, टाइफाइड, जण्डिस लगायतका खाना र पानी जन्य रोग देखिने सम्भावना छ भने केहि दिनपछि औलो, डेगुं, चिकनगुनिया लगायतका किटजन्य रोग देखिने सम्भावना रहेको विज्ञहरू औल्याउँछन् । यस्तै आँखा पाक्ने रोग र छाला सम्बन्धी रोग देखिने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डे बताउँछन् ।
रोगको संक्रमण न्युनिकरणको लागि सरकारले स्वास्थ्य सेवालाई तिव्रता दिएको दावी गरेको छ । बाढीपहिरोको कारण विस्थापितहरूका लागि तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन गरेर औषधि उपचारको व्यवस्था गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले सिराहा र सप्तरी जिल्ला हेर्ने गरी लाहानमा स्वास्थ्य एकाइको स्थापना गरेको छ । सर्लाही, धनुषा र महोत्तरीलाई समेट्ने गरी बर्दिबासमा स्वास्थ्य ईकाइको स्थापना गरिएको आपतकालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले जानकारी दिए ।
वर्षातपछिको बाढीपहिरोसँगै ति क्षेत्रमा विभिन्न खाले स्वास्थ्य समस्या देखिन थालेको छ । जसले गर्दा नागरिक त्रासमा छन् ।
बाढी प्रभावित क्षेत्रमा रोगको महामारी फैलिन सक्ने मूख्य कारण दुषित पानी हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढी प्रभावित जनतालाई तत्काल शुद्ध खानेपानीको सुनिश्चितता गर्नुपर्छ ।
यसले पानी जन्य रोगको प्रकोप फैलिनबाट जोगाउँछ । यस्तै हेपाटाइटिस ए विरूद्धको खोप र औलो रोगबाट बचाउने उपाय बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्याइनु पर्दछ ।