भारतले चन्द्रमामा पठाउन लागेको चन्द्रयान-२ को प्रक्षेपणको मिति पुनः तोकेको छ । यसै हप्ता गर्ने भनिएको प्रक्षेपण प्राविधिक कारणले रोकिएकोमा ६ साउनका लागि तोकिएको छ ।
भारतको स्पेस रिसर्च अर्गनाइजेशनले ६ साउनको ग्रिनविच समय अनुसार ९ बजेर १३ मिनेटमा यान प्रक्षेपण गर्ने उल्लेख गरेको छ ।
१५ जुलाईको सन् २०१९ को भारतीय समय अनुसार दुई बजेर ५१ मिनेटमा यान प्रक्षेपण गर्ने तय भएको थियो । तर, अन्तिम समयमा केही प्राविधिक कारण भन्दै उसले प्रक्षेपण अहिलेलाई रोकेको हो । अब प्रक्षेपणको मिति दश दिनपछि तय हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।
भारतको यान प्रक्षेपणलाई विश्वभर चासोका साथ हेरिएको छ । उसले प्रक्षेपण गर्न लागेको यान चन्द्रमाको सतहमा पुर्याउने उद्देश्य राखेको छ ।
भारत चन्द्रमाको नयाँ दौडमा सहभागी हुनुलाई उसको महाशक्ति बन्ने महत्वाकांक्षाका रुपमा हेरिएको छ । चन्द्रमामा यान अवतरण गरेमा दौडमा सहभागी अमेरिका, रुस र चीनपछि चौंथो मुलुक बन्नेछ ।
भारतले चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । यो सफल भएमा चीनपछि भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने दोस्रो देश बन्नेछ । उक्त क्षेत्रमा पानी रहेको अनुमानका आधारमा अन्वेषणहरु हुन थालेका छन् ।