ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो ।
पारा राज्यमा रहेको जेलमा एउटा ब्लकका कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । जेलरहरुलाई नियन्त्रणमा लिएर आक्रमण भएको थियो ।
घटनामा शुरुमा १६ जनाको हत्या गरिएको थियो । त्यसपछि जेलमा आगो लगाइदिएका थिए । आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो ।
जेलमा कुनैपनि सुरक्षाकर्मी र जेलरहरु घाइते भएका छैनन् । घटनाको उद्देश्य विपक्षी समूहमाथि आक्रमण गर्नु रहेको बुझिएको छ ।
ब्राजिलका टेलिभिजनहरुले जेलमा आगो लागेको दृश्य देखाएका थिए । जेलमा दुई सय जना क्षमता रहेपनि ३०९ जना कैदी राखिएका थिए ।
घटनाको पाँच घन्टापछि सुरक्षाकर्मी प्रवेश गरी जेलमा नियन्त्रण कायम राखेको थियो । त्यस क्रममा कैदीहरुले आत्मसमर्पण गरेका थिए ।
ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ । यसैवर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । ग्याङ बन्ने र एक अर्काबीच कुरा नमिल्ने भई आक्रमणका घटना भइरहन्छन् ।-एजेन्सी, Photo: Heavy.com
https://www.youtube.com/watch?v=TCKDENIBWfY