पोखरा, ३२ साउन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा विद्यमान गुटबन्दी अन्त्यका लागि पार्टीका कार्यकर्ता यो वा त्यो नभनी विचार र नीतिका पछाडि लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली काङ्ग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि पोखरामा जारी महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन कार्यक्रममा उहाँले पार्टीमा विद्यमान अन्तरघात र गुटबन्दीलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।
“पार्टीको विचार, सिद्धान्त र नीतिलाई आत्मसात गर्दै अघि बढेमा त्यससँगै गुटबन्दी स्वतः अन्त्य हुन्छ”, उनले भने, “पार्टीको प्रत्येक कार्यकर्ताले व्यक्तिभन्दा विचारलाई प्राथमिकता दिनुपर्छ, गुटबन्दीको अन्त्य सँगै अन्तरघात स्वतः कम हुन्छ ।” आशन्न उपनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्दै उनले आपसी मतभेदलाई बिर्सेर पार्टीका पक्षमा जनमत बनाउन र मतदाता केन्द्रित हुनुपर्नेमा जोड दिए।