Logo

पर्यटनमन्त्रीको घोषणा : ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट



काठमाडौं १० भदौ । निजी क्षेत्रका वायुसेवा कम्पनी सहमत भएमा तीन महिनापछि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे कार्यक्रम सार्वजनिक गर्दै नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई यसबारे टुंगो लगाउन भनेका छन् ।

आफ्नो कार्यकालमा पूरा गर्ने गरी १ सय ४१ वटा कार्ययोजना सार्वजनिक गरेका उनले आन्तरिक उडानमा यात्रु बिमांक रकम वृद्धिको विषय पनि उल्लेख गरेका छन् । ‘नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बिमासम्बन्धी व्यवस्था गर्ने गरी कानुनको व्यवस्था गर्ने,’ भट्टराईले सार्वजनिक गरेको कार्ययोजनामा भनिएको छ । मन्त्रालयले ४ महिनामा कानुनको मस्यौदा बनाई मन्त्रिपरिषद्मा पेस गर्ने उल्लेख गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा ल्याइने जनाउँदै उनले नेपाली वायुसेवा कम्पनीलाई युरोपियन युनियनले आफ्ना सदस्य मुलुकमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ६ महिनाभित्र यो काम सक्ने उनको योजना छ ।

‘विमानस्थल एप्रोन’ क्षेत्रमा गाडी निषेध
विमानस्थलको ‘एप्रोन क्षेत्र’मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशका गाडीबाहेकलाई प्रवेश गर्न दिइनेछैन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीलाई १५ दिनभित्र यसबारे कार्ययोजना बनाई लागू गर्न भनिएको छ । विमानस्थलमा हुने भीआईपी आवागमनबारे पनि २ महिनाभित्र नयाँ मापदण्ड बनाइसक्न निर्देशन दिइएको छ ।

विमानस्थलभित्र सञ्चालित पसलले खानेकुरा र पेयपदार्थको मूल्य मनपरी राख्न नपाउने भएका छन् । यात्रुहरूले चर्को मूल्य तिर्नुपरेको गुनासो गरेकाले यसबारे सुझाव दिन कार्यदल गठन गरिँदै छ । कार्यदलले प्रतिवेदन बुझाएपछि सोहीअनुसार मूल्यमा एकरूपता दिने तयारी छ ।

विदेशबाट फर्केका यात्रुलाई ३० मिनेटभित्र ब्यागेज उपलब्ध गराइने व्यवस्था गरिँदै छ । त्यसका लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ब्यागेज उपलब्धतामा ढिलाइ नगर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् । विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई पनि आन्तरिक टर्मिनल भवनमा पनि ब्यागेज बेल्ट जडान गर्ने व्यवस्था मिलाउन उनले भनेका छन् । यात्रु आउने र शव ल्याउने बाटो एउटै भएकाले मृतकका आफन्तका लागि छुट्टै प्रतीक्षालय र बाटो बनाउन पनि भट्टराईले निर्देशन दिएका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्