काठमाडौं, १० भदौ। इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा इन्टरमिलानले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रामेलु लुकाकुले गोल गरे ।
उनीसहित मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी र एन्टोनियो क्यानड्रेवाले गोल गरे । ब्रोजोविकले २१ औँ तथा सेनसीले २४ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो ।
लुकाकुले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता ३–० मा लगे । ७६ औँ मिनेटमा फारिएसले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लीसी १० खेलाडीमा सीमित भयो ।
८४ औँ मिनेटमा क्यानड्रेभाले गोल गरेपछि इन्टर मिलान ४–० ले विजयी भयो । लुकाकुले युनाइटेडका लागि ९६ खेलमा ४२ गोल गरेका थिए । उनी सन् २०१७ जुलाईमा ७५ मिलियन एभर्टनबाट युनाइटेड आएका थिए । एजेन्सीको सहयोगमा