काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै सांसद महतोले यस्तो माग गरेकी हुन् ।
भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारवाही गर्न पनि माग गरिन् ।
महतोले भनिन्‘महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ । प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ । प्रदेश २ को सरकारले बेटी पढाउ बेटी जोगाउ अभियान जोडतोडले लागू गरेको छ । बेटी नै बाँचेनन् भने वेटी जोगाउ अभियानको औचित्य हुने छैन ।’