Logo

मन्त्रीका भाईको गुन्डा कनेक्सन पुरानै



काठमाडौं, भदौ २७ । गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रूपमा भेटघाट गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको छ।

कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपीन ओझाले तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले समीरमानसँग भेट गरेको पुष्टि गरेका छन्। ओझासँग थापाको पुरानो चिनजानसमेत थियो।

आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न अएको ओझाले पुष्टि गरेका हुन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई दिएको बयानमा ओझाले समीर र थापाको भेट भएको उल्लेख गरेका छन्।

‘२र३ महिनाअघि उहाँ थापा आउनुभएको हो। उहाँ तत्कालीन माओवादीका कार्यकर्ता तुलसीको साथमा आउनुभएको थियो’, ओझाको बयानमा उल्लेख छ।पक्राउ परेका थापासहितलाई आपराधि लाभ र संगठित अपराधमा मुद्दा चलाइएको छ।

त्यसैगरी पक्राउ परेका मध्ये पवन खड्काले हाल फरार रहेका जावेद भनिने जावेद अनवरदिनलाई पटकपटक म्यासेज गरेर ‘हाम्रो कामको साथमा गृहमन्त्रीका भाइ नरेश थापा छन्, उनले हामीलाई बचाउँछन्’ भन्ने उल्लेख गरेका थिए।

‘हाम्रो काममा गृहमन्त्रीकै भाइ रहेका कारण डर मान्नुपर्दैेन, जेलमा गएर समीर दाइसँग पनि भेट गरेर आउनुभएको छ। ढुक्क भएर काम अघि बढाऔं भनेको हुँ’, पवन खड्काले बयानमा भनेका छन्, ‘हामीलाई यो काममा सहयोग गर्ने नरेशकुमार थापा नै हो।’

प्रहरी निरीक्षक ओझासँग थापाको चिनजान मन्त्रीनिवास जानेआउने क्रममा भएको थियो। ‘हरिहर भवनमा ड्युटीमा रहेका बेला उहाँसँग मेरो चिनजान भएको हो’, ओझाले बयानमा भनेका छन्।

पवनसँगै पक्राउ परेका शैलेश प्रजापतिले पनि सोही प्रकारको बयान दिएका छन्। उनले आफ्नो फुड कोर्ट भन्ने खाजा पसलमा आएर थापाले ढुक्क भएर काम गर्नुस्, मेरो साथ छ भनेको बयान दिएका छन्।

‘उहाँ थापा मेरो खाजा पसल फुड कोर्टमा आउनुहुन्थ्यो। कुनकुन ठेकेदारसँग पैसा उठाउने र कतिकति लिने भन्नेबारेमा मेरै खाजा पसलमा योजना बनेको हो।

उहाँसहित बनेको योजनाअनुसार दीपक गौतम, जयराज लामिछाने, लाक्पा गेलु शेर्पालगायतका ठेकेदारसँग पैसा उठाउने विषयमा कुराकानी भएको हो’, शैलेशको बयानमा उल्लेख छ।टपेन्द्र कार्कीले आजको नागरिक दैनिकमा खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्