काठमाडौं, ७ असोज । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको जिम्मा ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको बैठकले स्वीजरल्याण्डको कम्पनी ज्यूरिच छनौंट गरेको हो। निजगढ विमानस्थल बनाउन आशयपत्र पेश गरेका सात वटा कम्पनीमध्ये ज्यूरिच छानिएको हो। यो विमानस्थल बनाउन चीन, भारत र फ्रान्सको कम्पनीले इच्छा देखाएका थिए।
‘निजगढ विमानस्थल परियोजना सार्वजनिक निजी साझेदारीमा विकास गर्नका लागि आशयपत्र पेश गरेका कम्पनीहरु मध्ये तोकिएको मापदण्ड पूरा गरेको ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजी संक्षिप्त सूचीमा समावेश गर्ने निर्णय भएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस निर्णयपछि कम्पनीले प्राविधिक तथा वित्तीय प्रस्ताव पेश गर्नेछ। कम्पनीले पेश गरेको प्राविधिक र वित्तीय प्रस्तावका आधारमा विमानस्थल निर्माणको जिम्मा दिइनेछ। आजको गोर्खापत्रमा गोपालचन्द्र सुवेदीले खवर छापेका छन् ।