खोटाङ, १३ असोज । प्रभु हेलिकप्टर प्रालिले अधिक चार्टर शुल्क मागेको भन्दै उजुरी परेपछि नेपाल नागरिक उड्यान प्राधिकरणले जवाफदेही बन्न र कमजोरी नदोहोर्याउन निर्देशन दिएको छ।
खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका प्रेम सुवेदीलाई काठ्माडौं लैजानका लागि हेलिकोप्टर चार्टर गर्न खोज्दा प्रभु हेलिकप्टर प्रालिका कर्मचारीले ३ लाख १५ हजारबाट बार्गेनिङ गरेर २ लाख ८५ हजार शुल्क माग गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा उजुरी परेपछि प्राधिकरणले मानवीय संवेदनशिलता सम्बन्धी सूचना प्रवाह गर्दा जिम्मेवारी बन्न र आगामी दिनमा कमजोरी दोहोरिए कानून अनुसार कारबाही गर्ने चेतावनी सहितको पत्राचार गरेको हो।
मन्त्रालयले छानविनका लागि गत साउन १९ गते पठाएको पत्रको आधारमा प्राधिकरणले प्रभु हेलिकप्टर प्रालिलाई ‘एक्सन’ लिएको हो। प्राधिकरणले साउन २७ गते सोधेको स्पष्टीकरणको जवाफ प्रभुले साउन ३० गते दिएको थियो।
प्रभुको स्पष्टीकरण र उजुरीकर्ताको भनाईका आधारमा हेलिकोप्टर चार्टर भाडा सम्बन्धी गलत सूचना प्रवाह हुँदा बिरामी उद्धार र उपचारमा ढिलाई हुन गएको र यसबाट झेल्नु परेको कठिनाईका कारण सेवाग्राहीबाट उजुरी परेको देखिएको प्राधिकरणले प्रभुलाई पठाएको पत्रमा उल्लेख रहेको आजको नागरिक दैनिकमा खवर छ ।