विरगञ्ज, १ कात्तिक । जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश प्रकाश खरेलको एक नम्बर इजलासले अनुसन्धानका क्रममा उमेर पुगेको प्रमाण पेस नभएकाले बाल सुधार गृहमा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साले खातुनमाथि एसिड प्रहार गरेका माजिद मियाँ र सम्साद मियाँलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी सम्सादले गत भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए ।
अदालतका स्रेस्तेदार अधिकारीका अनुसार अभियोजन पत्रमा माजिदको उमेर १९ र सम्सादको उमेर १८ वर्ष उल्लेख छ । नारायणी अस्पतालले शारीरिक परीक्षण गरी उपलब्ध गराएको उमेरको प्रमाणपत्रमा सम्सादको १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष देखिएको छ । आजको कान्तीपुर दैनिकमा खवर छ ।