काठमाण्डौ । पछिल्लो समय गीतका शब्दमा अश्ल्लि र समाजमा विृकति भित्र्याउने खालका शब्द प्रयोग हुन थालेपछि कलाकारहरु कानुनी दायरामा आउन थालेका छन् ।
केही दिनअघि मात्रै गायक दुर्गेश थापा पक्राउ परे र कानुनी प्रक्रिया पूरा गरेर छुटे ।
आज चर्चित रयापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।
उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
भिटेनले प्रहरीलाई गालीगलौज गरेको आरोप प्रहरीले लगाएको छ । ’चुरोट’देखि ’हाल खबर’ शीर्षकसम्मका गीतमा प्रहरीलाई उनले ’डन्ठे’ भन्ने शब्द प्रयोग गरेका छन् । यसअघि पनि विभिन्न र्यापबाट चर्चामा आएका उनले यस गीतमा पनि प्रहरीलाई डन्ठे भनेका छन् ।
गीतमा उनले ’पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती’ भन्ने वाक्य प्रयोग गरेका छन् ।
यसैगरी उनले प्रहरीलाई इंगित गर्दै ’डन्ठेहरुलाई ’फक’ साइन। अनि हान्दै हिँड्छु थग लाइफ’ समेत भनेका छन् ।
युवाबीच लोकप्रिय उनलाई पछिल्लोपटक पोखरामा स्टेज कार्यक्रममा ढुंगा प्रहार गरिएको थियो । त्यतिबेला उनलाई प्रहरीले बचाएका थिए ।
पछिल्लो पटक सरकार उरन्ठेउला गीतलाई नियन्त्रणमा लिन तीव्र रुपमा लागिपरेको देखिन्छ । पशुपति शर्माको गीत विवादमा आए पनि उनलाई पक्राउ भने गरिएन ।
यसो त भिटेनका गीतहरुमा छाडा शब्द प्रयोग भए पनि सकारात्मक सन्देश पनि भरिएका हुन्छ ।
भिटेनको खासै नसुनिने खाते नेता भन्ने गितमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गाली गरेका छन् । यस्तै गरी उनले यस गीतमा माओवादीलाईसमेत गाली गरेका छन् ।
भिटेनको वास्तविक नाम समीर घिसिङ हो । ‘गरिबी ‘ गीतबाट ¥याप यात्रा थालेका उनी ‘सिमसिमे पानी’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् ।