काठमाडौं, कार्तिक ८ । ‘हामी यस्तै त हो नि ब्रोजहिले यस्तै त हो नि हो…’
यो कुनै गीतको लाइन हो भन्ने धेरैलाई पत्तै नहुन सक्छ । एउटा खास तन्नेरी पुस्ताले भने यही ‘र्याप’ लाई पत्याइनसक्नु मन पराएको छ । यसका गायक भिटेन (समीर घिसिङ) उनीहरूमाझ औधी लोकप्रिय छन् । युट्युबमा करिब दुई करोड भ्युज पाएको उनको यो गीत टिकटकमा उत्तिकै भाइरल छ ।
सामाजिक सञ्जाल हुँदै युवाका मुखमुखमा झुन्डिन पुगेको यो गीत प्रहरी प्रशासनका लागि भने ‘अपाच्य’ भएको छ । गीतमा ‘अश्लील’ शब्दहरू परेको भन्दै भिटेनलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । त्यसपछि ‘हामी यस्तै त हो नि ब्रो’ गीत युट्युबबाट हटाइएको छ ।
भिटेनको पक्राउसँगै एकातिर सिर्जनात्मक अभिव्यक्तिमाथि अंकुश लगाउनु जायज नहुने धारणा आइरहेका छन् भने अर्कोतर्फ यस्ता सिर्जनाले हाम्रो संस्कृति र मूल्यमान्यतालाई नै विकृत तुल्याउने विचार पनि व्यक्त भइरहेका छन् । ‘अश्लील, अस्वाभाविक, असामाजिक शब्द प्रयोग गरिएको छ त्यसमा,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘सुसंस्कृत, सभ्य समाजमा परिवारका सदस्य बसेर ती गीत सुन्दा अपाच्य हुन्छ ।’
भिटेनले फेसबुकमा असइको दर्ज्यानीसहितको पोसाक लगाएको फोटो दुरुपयोग गरेको भन्दै त्यो पनि पक्राउको अर्को कारण रहेको उनले खुलाए । उक्त र्यापमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतका शब्द रहेकाले भिटेनमाथि सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी भएको उनले जनाए ।
गत वर्ष पोखरामा सडक महोत्सवका अवसरमा आयोजित कन्सर्टमा गीत गाइरहँदा दर्शकदीर्घाबाट उनीमाथि ढुंगा प्रहार गरिएको थियो । त्यही घटनालाई लिएर भिटेनले लगत्तै ‘साइफर’ गीत ल्याएका थिए जसको भ्युज युट्युबमा ८० लाखभन्दा बढी छ ।
त्यसो त सरकारले सिर्जनाकै आधारमा कलाकार पक्राउ परेको यो पहिलो घटना हैन । यसअघि ‘लुट्न सके लुट…’ गाएकै कारण गायक पशुपति शर्मा, फिल्म ‘वीर विक्रम २’ को व्यंग्यात्मक शैलीको समीक्षा गरेका कारण युट्युबर प्रनेश गौतम पक्राउ पनि परेका थिए । प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर…’ गीतका गायक दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएको थियो ।
आजको कान्तिपुर दैनिकबाट