गोरखा, ९ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताउनुभएको छ ।
सदरमुकाममा आज पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीृकत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई महीनाभित्र निर्माणको काम सम्पन्न हुने बताउनुभयो । “लाप्राकको गुप्सीपाखामा एनआरएनएले निर्माण अघि बढाएको नमूनाबस्ती निर्माणको कामबाट पछि हट्ने कुरै हुँदैन,” उहाँले भन्नुभयो, “हामीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरेका छौँ, सम्झौताअनुसार काम सम्पन्न गर्छौं ।”
अध्यक्ष पन्तले लाप्राकको नमूनाबस्ती निर्माणका क्रममा त्यहाँ स्थानीयवासीले उपलब्ध गराउनुपर्ने केही सामग्री उपलब्ध गराउन ढिलाइ भएका कारण पुनःनिर्माणको काममा ढिलाइ भइरहेको बताउनुभयो । एकीकृत नमूनाबस्तीमा पर्खाल लगाउने लगायतका भौतिक संरचना निर्माणका विषयमा छलफल भइरहेको भन्दै उहाँले बस्तीको बीचमा सडक निर्माण लगायतका केही विषयमा अहिले प्राधिकरणसँग कुराकानी गरिरहेको बताउनुभयो ।
“प्राधिकरणसँग भएको सम्झौताअनुसार केही घरमा तला थप्ने काम बाँकी छ,” अध्यक्ष पन्तले भन्नुभयो, “शौचालय निर्माणको काम पनि लगभग अन्तिम चरणमा छ, ७० घरको शौचालय निर्माण भइसक्यो । तीन सय घरका लागि खाल्डो खनेर डिपिसीको काम सकिएको छ ।” अबको दुई महीना भित्रमा लाप्राकमा एकीकृत नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता भएअनुसार गैरआवासीय नेपाली सङ्घलाई दिएका सबै जिम्मेवारी पूरा गर्ने अध्यक्ष पन्तले प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी हाम्रो सबै जिम्मेवारी पूरा गरी काम सकेर छिटोभन्दा छिटो हस्तान्तरण गर्ने प्रक्रियामा छौँ”, उहाँले भन्नुभयो ।
अध्यक्ष पन्तले सङ्घले गाउँपालिकासँग गरेका सम्झौताअनुसार लाभग्राहीले उपलब्ध गराउने भनिएको काठ तथा शौचालय निर्माणका लागि खाडल छिटो खन्नका लागि सहयोग गरिदिन आग्रह गरिएको बताउनुभयो । “लाभग्राहीले शौचालय निर्माण आफँै सम्पन्न गर्न चाहनुहुन्छ भने पनि एनआरएनएले एकमुष्ट त्यही बराबरको रकम उपलब्ध गराउने विषयमा गाउँपालिकासँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।
एक हप्ताभित्रमा गाउँपालिकाले शौचालय निर्माणका लागि आवश्यक खर्च रकमको स्टिमेट तयार गरी आफूहरुलाई बुझाउने सहमति भएको अध्यक्ष पन्तले बताउनुभयो । बस्तीमा पर्खाल निर्माण र बीचबीचमा सडक निर्माणका लागि आवश्यक पर्ने अनुमानित रकम निकाल्न गाउँपालिका र एनआरएनएको संयुक्त समिति बनाइएको उहाँले जानकारी दिनुभयो । रासस file photo/RCN