Logo

शनिद्वारा आफूलाई लोकस्टार विजेता बनाउन सहयोग गर्ने सबैमा धन्यवाद प्रकट



काठमाडौं । नेपालको पहिलो मौलिक सिङगिङ रियालिटी शो आई.एम.ई. नेपाल लोकस्टारका विजेता शनि विश्वकर्माले आफूलाई विजयी बनाउन साथ र सहयोग पुर्याउने भोटर्स, शुभचिन्तक तथा आफन्तहरुलाई धन्यवाद दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा ‘शनि विश्वकर्मा जिताउँ संयुक्त मूल आयोजक समिति’ ले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै विजेता विश्वकर्माले आफूलाई विजयी बनाउन आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका हुन् । उनले भने,‘मलाई विजयी बनाउने र आजको यो स्थानमा पुर्याउन देश तथा विदेशबाट भोट र सहयोग गर्नुहुने सबैलाई एकमुष्ट रुपमा हार्दिक नमन गर्दछु । संयुक्त मूल समिति र यसमा आवद्ध सम्पूर्ण अग्रजहरुलाई पनि म यही मञ्चबाट धन्यवाद भन्न चाहन्छु । म जीवनभरि उहाँहरुप्रति आभारी छु ।’

आफ्ना बुवा–आमासहित कार्यक्रममा सहभागी विश्वकर्माले आफ्नो सांगितिक यात्रा सुरुवात भएको सुनाउँदै अझै राम्रो गरि नेपाली सांगितिक फाँटमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘नेपाली मौलिक कला, संस्कृतिलाई बचाउनको लागि म आफ्नो तर्फबाट पूर्ण प्रतिबद्धत छु । सँधैंभरि यसको लागि मेरो भूमिका हरपल रहनेछ ।’

समितिका तर्फबाट संयोजक तथा कलाकार नवीन खड्का, रोल्पा कलाकार समाजका प्रतिनिधि तथा कलाकार नन्द घर्ती, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेखप्रसाद रोका, माडी गाउँपालिका वडा–५ का वडाअध्यक्ष भरत बुढा, कलाकार टेकबहादुर बिक (गर्जन आरोही) र जिल्ला समन्वय समिति रोल्पाका सदस्य तथा समाजसेवी कर्मलाल परियारलगायतले विजेता विश्वकर्मालाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा समितिका संयोजक खड्काले शनिको अबको यात्रा उज्जवल रहेको बताए । उनले भने,‘आज हामी सबै शुभचिन्तकहरुको साथ र सहयोगबाट शनि विजेता भए । उनको सांगितिक भविष्य मैले सुनौलो देखेको छु ।’ उनले ‘बधाई छ स्वरको धनीलाई, लोकस्टार विजेता शनिलाई’ भन्दै गीतको एक लाईन पनि सुनाएका थिए । उनले समितिको तर्फबाट शनिलाई विजेता बनाउन अहोरात्र खट्नेहरुप्रति आभारी व्यक्त गरेका थिए ।

त्यस्तै, रोल्पा कलाकार समाजका प्रतिनिधि तथा कलाकार नन्द घर्तीमगरले शनिलगायत अन्य प्रतिष्पर्धीहरुको सांगितिक उज्जवल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरे । उनले भने,‘शनिलाई जिताउनको लागि देश तथा विदेशबाट विभिन्न माध्यम र तरिकाबाट सहयोग गर्नुहुने महानुभावहरुप्रति मेरो व्यक्तिगत तर्फ र रोल्पा कलाकार समाजको तर्फबाट हार्दिक धन्यवाद अर्पण गर्दछु ।’

कार्यक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेखप्रसाद रोकाले पनि शनि जिताउँ अभियानलाई साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरे । उनले भने,‘शनिलाई लोकस्टार बनाउनको लागि साथ दिने समाजका देश तथा विदेशमा रहेका शाखा समितिहरु र रोल्पामा रहेका विभिन्न राजनीतिक दल, बुद्धिजिवी, कर्मचारी र पत्रकारहरु, कलाकारप्रति आभारी छौं ।’ शनिको कला र गलाको सम्मान गर्दै भोट गर्ने सम्पूर्ण लोक पारखी नेपालीहरुमा विशेष धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा शनिको ठूलोबुवा समेत रहेका जनवादी गायक टेकबहादुर विश्वकर्मा (गर्जन आरोही) ले आफूले सानैदेखि शनिलाई माया, स्नेह दिँदै सांगितिक यात्रामा साथ दिँदै आएको सुनाए । बाल्यकालदेखि नै शनिमा गीत संगितप्रति रुची रहेको सुनाउँदै आफूले शनिको सोही प्रतिभालाई निखार्ने काम गरेको स्पष्ट पारे । उनले भने,‘आज किसिमले लोकस्टार बनेर हाम्रो सपना पूरा गरेतापनि शनिले अझै सांगितिक सफलताको उचाईमा पुगेर नेपालीहरुको मन जित्न सफल हुनुपर्छ । मेरो यही आर्शिवाद र शुभकामना छ ।’

शनिका बुवा–आमा मनबहादुर विश्वकर्मा र मनकुमारी विश्वकर्माले छोरा विजेता बन्दा आफूहरुमा खुशीको सिमा नै नरहेको बताए । उनीहरुले छोराको आगामी सांगितिक यात्रा सफल रहोस भन्दै उनलाई विजेता बनाउन देश तथा विदेशबाट साथ र सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद समेत दिए ।

एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको उक्त रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै विश्वकर्माले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका थिए । भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए।

प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भई २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गरे। उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे । रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे । नेपालीले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्