Logo

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना मुलुककै लामो झोलुङ्गे पुलको निरीक्षणमा



गलकोट, ११ कात्तिक । रााष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बागलुङ–पर्वत जोड्ने मुलुककै लामो झोलुङ्गे पुलको आज निरीक्षण गरेका छन् । निर्माणाधीन नेपालकै लामो पुलको अवस्था बुझ्नका लागि आज बागलुङ आउनुभएका अध्यक्ष तिमिल्सिनाले पुलको निर्माण प्रगतिको बारेमा बुझेका हुन् ।

उहाँले निर्माण कम्पनीले पाएको समयभन्दा अगावै पुल सम्पन्न गर्ने गरी काम गरेको भन्दै त्यसको प्रशंसासमेत गरेका थिए । पर्वत र बागलुङका जनतालाई सहज हुने गरी निर्माण थालिएको उक्त पुलको दुवैतर्फ भौतिक संरचना निर्माणको काम लगभग सकिएको र लठ्ठा तान्ने काम शुरु भएको भन्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि तोकिएको समयअगावै काम सम्पन्न हुन्छ भन्ने उदाहरण निर्माण कम्पनीले देखाएको बताए ।

अध्यक्ष तिमिल्सिनाले पुल निर्माणसँगै पर्वत र बागलुङका जनतालाई उत्पादनशील वस्तु आयात निर्यातमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पुललाई आउजाउका लागि मात्र नभएर कृषिजन्य उत्पादन साटासाटका लागि समेत प्रयोग गर्न सकिने धारणा राखे ।

निरीक्षणकाका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुल निर्माणका लागि आवश्यक लठ्ठा तान्ने मेसिन चीनबाट आइसकेकाले छोटो समयमै निर्माणको काम सम्पन्न हुने जानकारी गराएका थिए । पौडेलले दुवैतर्फ भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगी लठ्ठा तान्न बाँकी रहेको भन्दै करीब रु ६० लाख लागतमा लठ्ठा तान्ने मेसिन आइसकेकाले कामले तीव्रता पाएको बताए । file photo/M. Kalikote



प्रतिक्रिया दिनुहोस्