महोत्तरी, १३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् । महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आज आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको विकास चासोमा नेपाल परेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासबारे साझा चासो व्यक्त गरेको प्रचण्डको भनाइ थियो । नेपालको विकास र समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक भएको प्रचण्डको भनाइ छ । “हाम्रो विकास र समृद्धिको मुख्य पक्ष कृषि नै हो”, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, “यस कुरालाई हृदयङ्गम गरेर नै नेकपा नेतृत्वको सरकारले तराईका फाँट÷फाँटमा सिँचाइ पु¥याउन सुनकोशी–कमला र सुनकोशी–बाग्मती डाइभर्शन योजना अघि सारेको हो ।”
कार्यक्रममा अध्यक्ष प्रचण्डले आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका जनतालाई नेकपाको पक्षमा मतदान गर्न पनि अपिल गरे । जनतासँग सधैँ आफ्नो पार्टी साथ रहने प्रचण्डको भनाइ थियो । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा बलवा नगरपालिकाका गरी तीन वटा वडाका वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।