बेलायतस्थित एक औद्योगिक क्षेत्रमा लरी कन्टेनरभित्र मृत भेटिएका सबै भियतनामी नागरिक रहेको प्रहरीको भनाई छ । प्रहरीले गरेको पछिल्लो अनुसन्धानबाट मृतक सबै भियतनामी नागरिक भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।
उक्त लोरी भित्र मृत भेटिएका ३९ शवको सनाखत गर्न नसकेपछि बेलायती प्रहरीले लन्डनस्थित भियतनामी दूतावासको सहयोग मागेको छ ।
हाल भियतनामी सरकारसंग सम्पर्क भइरहेको र मृतकहरुकोे सनाखत पुष्टि गर्ने प्रमाणहरु संकलन भईरहेकोले मृतको चाँडै पहिचान खुल्ने विश्वास गरिएको छ ।
शुरुमा प्रहरीले मृतकसबै चिनियाँ नागरिक हुन सक्ने अनुमान लगाएको थियो । गत अक्टोबर २३ मा चिसो तापक्रम हुने व्यवस्था गरिएको लोरी भित्र ३९ वटा शव फेला परेको थियो ।
लन्डनस्थित भियतनामी दूतावासले मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ । उक्त लरीका चालकलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला रहेका छन् ।
–एजेन्सी