Logo

महराको तर्फबाट मैनाली र आचार्यले बहस गरे, भोलि फेरि बहस हुने



काठमाडौं, १७ कात्तिक । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । काठमाण्डौ जिल्ला अदालतमा आज विहान ११ बजेबाट थुनछेक बहस सुरु भएको थियो ।

महराको तर्फबाट आज अधिवक्ताद्धय लव मैनाली र भोजराज आचार्यले बहस गरेका थिए । वकालत गर्नेहरु धेरै भएकाले आइतबार बहस नसकिएपछि सोमबार बिहान ११ बजे फेरि बहस हुनेगरी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सोमबार ११ बजे फेरि बहस जारी रहने छ ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत शुक्रबार न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले महरासँग बयान लिएको थियो । बहस सकिएको छैन् । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।



प्रतिक्रिया दिनुहोस्