विराटनगर, १९ कात्तिक : लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ ।
सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सोमबार मात्रै सो सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार मोटरसाइकल दुर्घटना हुँदा दुवैको मृत्यु भएको छ ।
मोरङको बूढीगङ्गा गाउँपालिका वडा नं ३ स्थित शान्तिचोकमा भएको दुर्घटनामा वडा नं ४ निवासी ५२ वर्षीय डा सुवालाल माझी र निजकी २६ वर्षीया छोरी अञ्जली गम्भीर घाइते भइ उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो । केही महिना पहिले यही सडकका कारण राष्ट्रियस्तरका फुटबल खेलाडी शम्भु बाँस्तोलाको सुनसरी खनारमा सडकको निर्माणाधीन नालामा खसेर मृत्यु भएको थियो ।
सोमबार बिहान करीब ७ः५० को समयमा विपरीत दिशाबाट आइरहेका को१ख ७२३२ नंको यात्रुवाहक बसले को२७प १०२२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डा माझी आँखाका चिकित्सक र छोरी स्टाफ नर्स रहेको बुझिएको छ । गत वर्षदेखि प्रदेश सरकारले सडक सुशासन लागू गरेको भए पनि सवारी चाप, तीव्रगतिमा सवारी चलाउने, सवारी नियम पालना नगर्ने, निर्माणाधीन सडकका कारण सवारी दुर्घटनामा कमी आउन सकेको छैन ।