Logo

कात्तिकभित्रै समाजवादी पार्टीले सरकार छोड्ने रिजालको घोषणा



काठमाडौं, २० कात्तिक । सत्तारुढ दल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रचार विभाग सदस्य रामप्रसाद रिजालले आफ्नो पार्टीले छिट्टै सरकार छोड्ने बताएका छन् । संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै पार्टी सरकारबाट बाहिरिने तयारी गरेको उनले खुलासा गरे ।

बुधबार रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै नेता रिजालले संविधान संशोधन गराउने मुख्य उद्देश्य बोकेर नै पार्टी सरकारमा गएको भएपनि अहिलेसम्म प्रधानमन्त्री सो विषयमा गम्भिर नभएकोले बाध्य भएर सरकार छोड्न लागेको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमितिको बैठक यही कात्तिक २९ र ३० गते बस्दैछ । त्यही बैठकबाट सायद हामी सरकारबाट बाहिरिने निर्णयमा पुग्छौं ।’ पार्टी सरकारमा गएपनि अहिलेसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढेकोमा आम कार्यकर्ता पनि नेतृत्वसँग असन्तुष्ट रहेको उनको भनाई छ ।

सरकारबाट बाहिरिएपछि संविधान संशोधन र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनको लागि दबाब दिन सडक संघर्ष सुरु गर्ने पनि रिजालले पार्टीको योजना सुनाए । त्यस्तै, उनले जनताको मागबमोजिम राजपा नेपालसँग एकताको लागि पनि आफ्नो पार्टी छलफलमा जुटिरहेको सुनाए । उनले भने,‘राजपासँग एकता गरेर मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्ने योजनाका साथ हामी गृहकार्य गरिरहेका छौं । राजपासँगको एकताबारे पनि यही केन्द्रिय समितिको बैठकमा ठोस निर्णय हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्