आज हरिबोधिनी एकादशी । आजको दिनबाट शुभ कार्यको थालनी गर्ने गरिन्छ । जगतका पालनकर्ता भगवान श्री विष्णु आफ्नो निन्द्राबाट बिउझिएर सृष्टिको काम पुन सम्हाल्ने दिन हो । यसैगरी भगवान आशुतोष शिव पुन कैलाशको यात्राका लागि निस्कने गर्छन् । निन्द्रामा परेका देवताहरु जागा भई आफ्नो कार्यमा लाग्ने आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । यस दिन ब्रत बस्नका लागि यस्ता नियमको पालना गर्नाले सुख शान्ति तथा सौभाग्य हुने भनाइ रहेको छ ।
ब्रत बस्ने महिलाले विहानै नुहाएर आगन तथा घर लिपपोत गर्नुपर्छ । आगनको एक भागमा भगवान विष्णुको पाउँको चित्र बनाउनुपर्छ । त्यसपछि धुप बालेर विष्णुको पाउँमा ढोग्नुपर्छ ।
रातीमा सुभाषित स्त्रोत पाठ, भगवत कथा तथा पुराणादि सुन्ने सुनाउने तथा भजन गाउनुपर्छ । घण्टा, शंख आदि बजाउनुपर्छ ।
विविध प्रकारका खेलकूद, लीला तथा नाच आदि गरेर यो मंत्र उच्चारण गरी भगवानलाई निन्द्राबाट उठाउनुपर्छ ।
’उत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पतये।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तं भवेदिदम्।।’
’उत्थिते चेष्टते सर्वमुत्तिष्ठोत्तिष्ठ माधव।
गतामेघा वियच्चैव निर्मलं निर्मलादिशः।।’
’शारदानि च पुष्पाणि गृहाण मम केशव।’
त्यसपछि भगवानको मन्दिर तथा सिंहासनलाई विभिन्न प्रकारका कपडा,फलफुल तथा विभिन्न भजन गरी भगवानलाई जागा गराउनुपर्छ ।
तुलसाको मन्दिरमा देवताहरुको चित्र बनाउने र तत्पश्चात फलफुल चढाएर रातो तथा पहेंलो कपडाले ढाक्नुपर्छ र बत्ती बाल्ने ।
विष्णु पूजा तथा पंचदेव पूजा विधि अथवा रामार्चनचन्द्रिका अनुसार श्रद्धापूर्वक पूजा तथा बत्ती, कपूर बालेर आरती गर्ने । त्यसपछि यो मन्त्र उच्चारण गर्दै फुल चढाउने ।
’यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्मा्णि प्रथमान्यासन।
तेह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्तिदेवाः।।’
त्यसपछि यस मन्त्र उच्चारण गरी ध्यान गर्ने
’इयं तु द्वादशी देव प्रबोधाय विनिर्मिता।
त्वयैव सर्वलोकानां हितार्थ शेषशायिना।।’
इदं व्रतं मया देव कृतं प्रीत्यै तव प्रभो।
न्यूनं सम्पूर्णतां यातु त्वत्प्रसादाज्जनार्दन।।’
साथै प्रह्लाद, नारद, पाराशर, पुण्डरीक, व्यास, अम्बरीष,शुक, शौनक तथा भीष्मादिलाई सम्झदै चरणामृत, पंचामृत,प्रसाद बाड्नुपर्छ । त्यसपछि भगवान विष्णुलाई रथमा राखी आफ्नो टोल,गाउँ तथा नगरमा घुमाउनुपर्छ ।
शास्त्रानुसार यो समय वामन भगवान तीन पद जमिन लिएर विदा भएका थिए । त्यो समय दैत्यराज बलिले वामनजीको रथमा बसेर आफैले रथ चलाएको थियो । यसो गरेपछि समुत्थिते ततो विष्णौ क्रियाः सर्वाः प्रवर्तयेत’ का अनुसार भगवान विष्णुले आफ्नो निन्द्रालाई त्यागेर काम गर्नका लागि तयार भएका थिए । अन्तमा कथा सुनिसकेपछि प्रसाद वितरण गर्ने ।
-धार्मिक ग्रन्थको सहयोगमा