Logo

आलमलाई थुनामा राख्न माग



काठमाडौं, कार्तिक २२ । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा बिहीबार बहस गर्दै सरकारी वकिलहरूले यस्तो माग गरेका हुन् ।

मिसिल संलग्न प्रमाण कागजातले आलमकै प्रत्यक्ष निर्देशन र संलग्नतामा विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान जस्तो जघन्य कसुर अपराध भएको आरोप लगाउँदै सरकारी वकिलहरूले मुद्दाको पुर्पक्षको सिलसिलामा आलमलाई थुनामा राख्न माग गरेका हुन् । मङ्गलबार सुरु भएको आलमको बयान बिहीबार दिउँसो सम्पन्न भएपछि इजलासमा थुनछेक बहस सुरु भएको हो ।

आलमलाई मुद्दा पुर्पक्षको सिलसिलामा थुनामा राख्ने वा धरौटी वा साधारण तारेखमा छाड्ने विषयमा बहस सुरु भएको हो । बिहीबार नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका थिए । आजको गोरखापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्