काठमाडौं,कार्तिक २७ । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको चारदिने राजकीय भ्रमणमा आएका हुन् ।
राष्ट्रपति हमिदसँग उनकी पत्नी रसिदा हमिद पनि रहेकी छन् ।भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच आज उच्चस्तरीय भेटवार्ता हुने भएको छ । अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ ।
बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ । रात्रिभोजअघि बुधबार अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
बिहान ११ः१० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेटको कार्यक्रम तय भएको आजको गोरखापत्रमा खवर छ ।