देवताहरुको रक्षा र सृष्ट्रिको संरक्षण गर्नका लागि शिवले विष सेवन गरेका थिए । विष पिउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लागे । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरिन्छ ।
पौराणिक कथा अनुसार भगवान शिवलाई भांग धतुरो चढाउने गरिन्छ । भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबी भगवानलाई समर्पित गर्नु भन्ने हुन्छ ।
भगवान् शिवको गलामा सर्पको माला, हातमा त्रिशूल, बाघको छाला लगाएर मसानघाटमा बस्छन्, चिताको भष्म लेपन गर्छन् र गोरूमाथि सवार छन् ।
सर्प समय अर्थात् कालको सूचक हो । समयले शिवलाई कहिल्यै डस्न सक्दैन । भूत, भविष्यत् र वर्तमानको सीमारेखादेखि माथि भगवान् शिव बसेका छन् । यसरी काल अर्थात् जन्म मरणको चक्रलाई जितेर त्यसलाई आफ्नो शरीरको गहनाका रूपमा प्रयोग गनु भगवान् शिवको सन्देश हो ।
मसानघाट सबै सांसारिक वा भौतिक आग्रह, अस्तित्व र अहङ्कार सामाप्त पार्ने ठाउँ हो । मसानघाटमै संसार खरानीमा परिणत हुन्छ र त्यहाँबाट वैराग्यमार्फत् आध्यात्मिक जीवनको आरम्भ पनि हुन्छ ।
भगवान् शिव विष, भाङ, गाँजा, र धतुरो सेवन गर्छन् । भगवानले नै यी विष, भाङ र धतुरोलाई सेवन गर्न सक्छन् । किनभने, उनी नै यी विषहरू पनि पचाउन सक्ने सामर्थ्य राख्दछन् । जसलाई यी विषले कुनै प्रभाव पार्न सक्दैनन्, ती नै भगवान् हुन् ।
धर्तीलाई भगवान मानिन्छ किनभने धर्तीमा नै गाँजा, विष, भाङ धतुरो फुल्ने फल्ने हुन्छ । शिवले ती समस्त विषहरूलाई पचाइदिन्छन् । अमृत र विषको विभेद धर्तीले कहिल्यै गर्दैन । भगवान् शिवलाई विषको कुन असर पर्दैन । भूत, प्रेत, पिशाच शिवका गण हुन् ।
भगवान् शिव सबै अमङ्गल, विष, भय र असुरक्षाका बीचमा आफ्नो शौर्य, शक्ति, सेवा र सहयोगी गुणहरूलाइ सबैको कल्याणमा नित्य लीन छन् । त्याग, बलिदान र कल्याणको उच्च बन्दनास्वरूप नै उनको पूजा गरी शिव विष, भाङ, गाँजा, र धतुरो प्रसादको स्वरुप चढाउने र सेवन गर्ने चलन छ ।
-धार्मिक ग्रन्थको सहयोगमा