काठमाडौं, मंसिर ८ । राहदानी विभागले व्यक्तिको हराएको राहदानी दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राख्दै आएको छ । राहदानी विभागमा पासपोर्ट हराएको तथा चोरी भएको जानकारी गराएपछि सो पासपोर्टको सम्पूर्ण विवरण प्रहरीको इन्टरपोल शाखामार्फत अपडेट गर्दै आएको छ । राहदानीको विषयमा सम्बन्धित अधिकारीलाई शंका लागेमा इन्टरपोलमार्फत सम्पूर्ण विवरण लिन सजिलोका लागि रेकर्ड राखिएको हो । इन्टरपोल अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन हो, जहाँ विश्वका १ सय ९४ राष्ट्र आबद्ध छन् । हाल इन्टरपोलमा विश्वभर हराएका वा चोरी भएका ८ करोड ४० लाख पासपोर्टको तथ्यांक छ ।
दुरुपयोग गरे तीन वर्ष कैद ५ लाख जरिवाना
राहदानी ऐनको दफा २२ को १ मा राहदानी कसुर गर्नेलाई २ लाखदेखि ५ लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजाय पाउने व्यवस्था छ । त्यस्तै, आफ्नो नामको राहदानी अरूलाई प्रयोग गर्न दिएमा वा ऐनमा उल्लेख भए विपरीत काम गरेमा सजाय हुने व्यवस्था उल्लेख छ । ऐनको दफा ३ मा विदेश जाँदा आफ्नो नाममा जारी भई बहाल भएको राहदानी लिएर जानुपर्ने उल्लेख छ । यसलाई उल्लंघन गरे पनि दफा ५ ले दण्डनीय मानेको छ ।राजधानी दैनिकबाट