काठमाडौं, मांसिर १२ । सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको छ। चार महिनाअघि संगठन विभागले नेतृत्व पाएपछि संगठनात्मक योजना बनिरहेको छ।
दुई वर्ष्भित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्त्वकांक्षी’ योजनासहित संगठन विभागले कार्ययोजना तयार पारेको छ। विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको छ।
नेकपाका झण्डै ७ लाख संगठित सदस्य छन्। तत्कालीन एमाले र माओवादी एकतापछि पार्टी सदस्यको अभिलेख राख्न विभाग जुटेको छ। विभागलाई पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्यको अभिलेख राख्ने र प्रमाणित गर्ने, आवश्यकताअनुसार सदस्य तथा संगठित सदस्यको स्थानान्तरण गर्ने, पार्टीका संगठित सदस्य र विभिन्न तहका कमिटी, आयोग, निकाय, विभागका पदाधिकारी तथा सदस्यको वर्गीय, जातिय, भाषिक, लैङ्गिक तथा प्रादेशिक प्रतिनिधित्त्वको तुलनात्मक अभिलेख तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्नेलगायतका १२ वटा अधिकार पार्टी नियमावलीमा ब्यवस्था गरिएको अन्नपूर्ण पोस्टमा खवर छ ।