काठमाडौं, मंसिर २३ । उपसमामुख शिवमाया तुम्वाङ्फेको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र दुईजना आयुक्त गरी तीनजनाको नाम सिफारिस गरेको छ। प्रमुख आयुक्तमा पूर्वसचिव महेन्द्रमान गुरुङ र सदस्यमा कमला ओली र पत्रकार दीपक मैनाली नियुक्त भएको स्रोतले जनाएको हो।
एक महिनापछि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन हुँदैछ। तर पदाधिकारी सिफारिस गर्नका लागि सभामुखको अध्यक्षता हुने भने पनि उपसभामुखले अध्यक्षता गरेकी छन्। तर उपसभामुखले भाग लिएर सिफारिस भएमा अवैधानिक हुने विज्ञले बताएका छन्।
संविधानविद् भीमार्जुन आचार्यले भने, ‘उपसभामुखले बैठकको अध्यक्षता गर्न पाउँछ अर्थात कार्यविधिगत काम गर्न पाउँछ तर सारभूत कुरा गर्न पाउँदैन। उपसभामुखको अध्यक्षतामा सिफारिस गर्ने निर्णय हुनु अवैधानिक हुन्छ।’
सभामुखको अध्यक्षतामा रहने सिफारिस समितिमा सञ्चारमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यवस्था छ। सभामुखको हैसियतमा उपसभामुख शिवमाया तुम्वाहाङ्फेले अध्यक्षता गरेको बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पत्रकार महसंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थिति रहेको आजको नागरिक दैनिकमा खवर छ ।